
काठमाडाैँ, १३ बैशाख । अन्तर प्रदेश परिषदको तेस्रो बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र ६ वटा प्रदेशका मुख्यमन्त्रीहरु सहभागी छन् ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत भने बैठकमा सहभागी छैनन् । उनी पार्टी कामको व्यस्तताले बैठकमा सहभागी हुन नसकेको बुझिएको छ ।
यसैगरी, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा. युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कानुनमन्त्री भानुभक्त ढकाल र संघ तथा प्रदेशका सचिवहरु पनि बैठकमा सहभागी छन् ।
बैठकमा आर्थिक वर्ष २०७६/०७७ को बजेट र योजनाका विषयमा छलफल केन्द्रीत हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । बजेट र योजनामा डुप्लिकेसन नहोस् भन्नका बैठक बस्न बसेको हो ।
यसअघि गत चैत २१ गते बसेको अन्तर प्रदेश परिषदको बैठमा मुख्यमन्त्रीहरुले आर्थिक वर्ष २०७६/०७७ मा कम्तिमा ३३ प्रतिशत बजेट माग गरेका थिए ।















प्रतिक्रिया