काठमाडौं । झापा जिल्ला घर भई बिगत ८–१० वर्षदेखि काठमाडौंमा बसोबास गर्दै आएकी गायिका रितु उप्रेतीमा अहिले पनि गीत संगीतप्रति निकै चासो राख्छिन् ।
०५८ सालमा गायन क्षेत्रमा प्रवेश गरेकी उप्रेती अहिले भने निस्क्रिय जस्तै छिन् । घरव्यवहारले थिँचेपछि उनको गायन पेसा पनि विगत १५ वर्षदेखि थिँचिएको छ ।
बेलाबेला गीत गाउने रहर उनलाई लाग्छ । आफैले लगानी गरेर गीत रेकर्ड गराउने उनको क्षमता छैन । अरुले गीत गाउन दिँदैनन् । नयाँ पुस्ताले थिँचेको गीत संगीतमा उनलाई शून्यबाट संघर्ष गर्नुपर्ने अवस्था आइपुरेको छ । अबका दिनमा गीत गाउनु पर्यो भने शून्यबाटै शुरुवात गर्नुपर्ने उनी बताउँछिन्
। लामो समय भइसक्यो गीत नगाएको उनका लागि । ‘अब गीत गाउनु पर्दा मैले शून्यबाटै शुरु गर्नुपर्छ’, उनले भनिन्, ‘गीत गाउन रहर छ । नयाँ पुस्ता आएको छ । मैले धेरै संघर्ष गर्नुपर्छ ।’
उनले ‘पश्चिमेली नानीलाई पूर्व पु¥याउँला’ बोलको गीत गएकी थिइन् । ०५८ सालदेखि गीत गाउन थालेको उनी बताउँछिन् । उनले काठमाडौंको कलानिधिमा म्युजिकमा तत्कालीन समयमा गायन सिकेकी हुन् । सिक्दै गर्दा शुरुवाती दिनमा स्टेज कार्यक्रम पनि गरेको उनले स्मरण गरिन् । झापामा विवाह गरेकी उप्रेतीको माइत भने मोरङमा पर्छ ।
‘वर्तमान मायालु’ उनको पहिलो दोहोरी रेकर्डिङ गीत हो । ‘औँठी सुनैको’ गीत पनि उनले नै गाएकी हुन् । ‘जान्छु छाडेर’ आधुनिक गीत उनको राम्रो गीतमा पर्छ । यो गीत ‘पथ’ एल्वममा रहेका थियो । यसलाई म्युजिक नेपालले सिआरबीटीमा राखेको थियो ।
सानैदेखि गायन उनका लागि रहरको विषय थियो । गाउँघरमा हुने देउसी भैलोबाट उनको गायन शुरु भएको थियो ।
विवाह हुनु अगाडिसम्म उनलाई घरमा गायनमा सहयोग थियो । विवाह भएपछि भने उनको गायन पेसमा ब्रेक लाग्यो । श्रीमान्का कारण उनले गायनलाई निरन्तरता दिन सकिनन् । उनका पतिलाई गायनमा लागेको मन परेको थिएन ।
अहिले फेरि गायनलाई लाग्ने सोँच छ । तर, आफैले पैसा लगाएर चाहिँ गीत रेकर्ड नगर्ने उनी बताउँछिन् । ‘मसँग प्रसस्त पैसा छैन । मैले आफै लगानी गरेर गीत रेकर्ड गराउँदिन’, उनले भनिन्, ‘कसैले गीत गाउन आग्रह गर्नुभयो भने गाउँछु ।’ उनलाई सानो बच्चा हुर्काउनुपर्ने दायित्व पनि छ । छोराको लालनपालन उनको काँधमा आइपुगेको छ ।
गीतसंगीतमा ब्याक सपोर्ट आवश्यक पर्ने उनको भनाइ छ । ‘अबका दिनमा गीत संगीतलाई पार्ट टाइमका रुपमा लिने हो । यो क्षेत्रलाई छाड्न भने सक्दैन’, उनले भनिन्, ‘हेरौँ भविष्यमा के हुन्छ ।’
उनले सबै प्रकारको गीत गाउने गरेको पनि बताइन् । ‘मलाई सबै प्रकारका गीत गाउन आउँछ । लोकआधुनिक र सुगमसंगीतमा रहर छ’, गायिका उप्रेतीले भनिन्, ‘विशेष गरेर पुराना गीत सुन्न मनपर्छ ।’
उनी साकाहारी हुन् । खानपिनमा कुनै रोजाइ छैन । उनलाई घुम्न मन पर्छ । तर, घुम्नकै लागि बाहिर गएकी छैनन् ।
अञ्जु पन्त, मेलिना राईका गीत उनी सुन्छिन् । गायिका रीमा गुरुङ उनकी बेस्ट गायिका हुन् । प्रमोद खरेल, स्वरुपराज आचार्यको स्वर मर्नपर्छ । बसन्त सापकोटा, अर्जुन पोखरेलले दिएका संगीत पनि उनी मन पराउँछिन् । उनी आफैले पनि गीतका शब्द लेख्छिन् ।
यादव खरेल, चेतन कार्की, कालीप्रसाद रिजालको शब्द लेखन उनलाई मन पर्छ । उनीहरूलाई उप्रेतीले भेटेकी छैनन् ।
गीत संगीतमा लागेकै कारण समाजबाट अपहेलित हुनु नपरेको उनले बताइन् । ‘नाकारात्मक कुराहरू मेरो कानमा परेको छैन’, उनले भनिन् ।















प्रतिक्रिया