
काठमाडौँ, १० बैशाख । नेपालबाट बंगलादेशमा धागो निकासी गर्ने बाटो खुलको छ । बंगलादेश सरकारले ४ वर्षदेखि नेपाली धागोको आयातमा लगाउँदै आएको प्रतिबन्ध फुकुवा भएसँगै धागो निकासीको बाटो खुलेको हो ।
त्यहाँको राष्ट्रिय राजस्व बोर्डले सरोकारवालाहरुसँगको स्थलमार्ग हुँदै धागो आयात गर्न अनुमति दिने निर्णय गरेको बंगलादेशको न्युएज अनलाइनले जनाएको छ ।
बंगलादेशले ४ वर्षअघि नेपाली धागोको आयात बन्द गर्ने निर्णय गरेको थियो । तर, नेपाली पक्षले सन् २०१७ देखि नै प्रतिबन्धले नोक्सानी परेको भन्दै फुकुवा गर्न आग्रह गर्दै आएको थियो । निजी तथा सरकारी तबरमा भएका विभिन्न छलफल र नेपाली धागोको गुणस्तर परीक्षणपछि बंगलादेश सरकार नेपाली धागो आयात गर्न दिने निष्कर्षमा पुगेको हो ।
बोर्डको सीमा शुल्क निर्धारण विभागले गत अप्रिल ७ मा पाँचग्रहको तेतुलियामा स्थलमार्ग हुँदै धागो आयातको अनुमति दिने वैधानिक नियामक आदेशसमेत जारी गरिसकेको छ ।
बोर्डले जारी गरेको वैधानिक नियामक आदेशअनुसार, बोन्डेड वेयरहाउस लाइसेन्स लिएकाले मात्रै स्थलमार्ग भएर नेपाली धागोको आयात गर्न पाउने छन् । बोन्ड लाइसेन्समार्फत गरिने आयात ड्युटी फ्रि हुने व्यवस्था पनि बोर्डले गरेको छ । तर, सामान्य आयातमा भने थप १० प्रतिशत दायित्व पर्नेछ ।















प्रतिक्रिया