बारा, १ फागुन । बाराको सदरमुकाम कलैयामा कान्तिपुर दैनिकको गाडीमा आगजनी गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि स्थिति तनावग्रस्त बनेको छ ।
कान्तिपुर पत्रिकामा कलैयामा भइरहेको आन्दोलनको समाचार प्रकाशित नगरिएको विरोधमा आज बिहान कान्तिपुरको लु १ च ४३३६ नम्बरको जिपलाई आन्दोलनकारीहरुले आगो लगाइदिएपछि तनाव सिर्जना भएको हो ।
मालपोत, नापी, भूमिसुधार कार्यालय कलैयाबाट सिमरामा सार्ने सरकारको निर्णयबाट असन्तुष्ट भएका बारा उद्योग वाणिज्य संघ साना किसान पसल संघ, तरकारी व्यवसायी संघ, लेखापढी व्यवसायी संघ र राजनीतिक दलका समितिले केही दिनदेखि कलैयामा जारी राखेको आन्दोलनको समाचार कान्तिपुर पत्रिकामा प्रकाशित नगरेको विरोधमा आज बिहान ९ बजे भरत चोकमा आगो लगाइएको हो । आन्दोलनकारीले कलैयाका पत्रिका पसलका लागि ल्याइएको कान्तिपुर पत्रिका स्थानीय पसलमा बुझाइसकेपछि पनि जलाएका छन् । कान्तिपुरको गाडी तोडफोड गर्नुका साथै पत्रिका पसलमा बाहिर झुन्डाइएका पत्रिकासमेत झिकी जलाइएको छ ।
यसैक्रममा प्रहरीले हस्तक्षेप गर्दा दुवै पक्षबीच ढुंगामुढा हुँदा केही व्यक्ति घाइते भएका छन् । कलैया बजार पूर्णरुपमा बन्द भई तनावग्रस्त अवस्थामा रहेको छ ।















प्रतिक्रिया