४ कार्तिक २०८३, बुधबार

असिनापानीले दुई हजार रोपनीमा लगाएको आलु नष्ट

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ९ वैशाख । भक्तपुर जिल्लामा वर्षा र असिनापानीले गर्दा आलु खेती नष्ट भएको छ ।

वर्षासँगै आएको असिनापानीले चाँगुनारायण नगरपालिका–८ र ९ को ८० प्रतिशतभन्दा बढी आलु नष्ट भएको हो ।

१ वैशाखदेखि नै परेको अविरल वर्षासँगै आएको असिनाले जोन क्षेत्रको आलु नष्ट बनाउँदै आएको छ ।

करिब २ हजार रोपनी क्षेत्रफलमा लगाएको आलुमा नियमित परेका पानी र असिनाले चुट्दा आलुको बोट नष्ट भएसँगै आलु खेतमा नै कुहिएको छ ।

मौसमी र बेमौसमी गरी तीन बालीसम्म आलु खेती हुने उक्त क्षेत्रमा खेतमा नै आलु नष्ट हुँदा बेमौसमी आलुको लागि बीउ नै अभाव हुने भएको छ ।

प्रतिहेक्टर २५ टन आलु उत्पादन हुने क्षेत्रको ८० प्रतिशत अर्थात् करिब ८० हेक्टर क्षेत्रफलको नै आलु नष्ट हुँदा किसानलाई करोडौंको क्षति भएको प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना आलु जोनका प्रमुख द्रोणराज काफ्लेले बताए ।

उनका अनुसार अब पनि नियमित नै यसैगरी पानी अनि केही समयका लागि चर्को घाम लाग्ने हो भने जोन क्षेत्रको आलु अझ बढी नष्ट हुने उनी बताउँछन् ।

आलुको बोट असिनाले चुटेको छ, खन्ने बेला भएको आलुमा लागेका दाना पनि नियमित परेका पानीले र अहिलेको घामले गर्दा कुहिने सम्भावना अझ बढेको उनी बताउँछन् ।

१ वैशाखमा असिना मात्र आएको भए पनि करिब ५० हेक्टरको आलु जोगिन सक्थ्यो तर नियमित परेको पानीले किसानलाई मर्का नै पारेको उनको भनाइ छ ।