काठमाडौं, ०१ फागुन । संगठन सुदृढीकरण गर्ने भन्दै मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले आज
(शुक्रबार)देखि मेची-महाकाली अभियान सुरु गरेको छ ।
प्रचण्डबाट छुटिएर अलग भएको नेकपा-माओवादीले सचिव नेत्रविक्रम चन्दलाई गुमाएपछि अल्पमतमा परेको भन्दै संगठन सुधारका लागि अभियान सुरु गरेको हो । वैद्य माओवादीका अधिकांश कार्यकर्ता विप्लवसंगै गएका छन् ।
संगठन कमजोर, तथा आगामी कार्यक्रमको बारेमा जनतासंग बुझ्न वैद्य माओवादीले मेची-महाकाली अभियान सुरु गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
अभियानले वैद्य माओवादीले माग गर्दै संविधानसभा विघटन र सर्वपक्षीय राजनीतिक सभाका लागि पनि दबाब दिनमा सहयोग पुग्ने छ । माओवादीले सुरु गरेको अभियान चैत २४ गतेसम्म चल्ने छ ।
संगठन सुदृढीकरण, जनसम्बन्ध विस्तार लगायतका कार्यक्रम अभियानको मुख्य उद्देश्य हो । आज राजधानीको बसन्तपुरबाट अभियानको उद्घाटन अध्यक्ष मोहन वैद्यले गरेका छन् । मेची-महाकाली अभियान २० औं जनयुद्ध दिवसको अवसर पारेर सुरु गरिएको हो । माओवादीले अभियानका लागि शिर्ष नेताहरुलाई देशभर खटाइएको छ ।
उपाध्यक्ष सीपी गजुरेल कैलालीमा, महासचिव रामबहादुर थापा बुटवलमा, सचिव देव गुरुङ इटहरीमा र प्रवक्ता पम्फा भुसालले काभ्रेको बनेपामा हुने कार्यक्रमलाई सम्बोधन गर्ने माओवादी केन्द्रीय समितिले जनाएको छ ।















प्रतिक्रिया