५ कार्तिक २०८३, बिहिबार

‘कलाकारले आफ्नो मर्यादा र हैसियत भुल्नु हुँदैन’

5.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राजनीतिक दलको कार्यकर्ता हुँदै गायन क्षेत्रमा लागेकी सरिता खनाल गीत संगीतको क्षेत्रमा रमाउँदै छिन् । पाल्पा जिल्लाको देउरालीकी खनाल पछिल्लो समय राजनीतिक क्षेत्रमा धेरै समय दिन भ्याउँदिनन् । भन्छिन्, ‘सधैँ पार्टीको कार्यक्रममा हिँड्न सकिँदैन । आफ्नो काम, पेशा व्यवसाय र गायन गर्नुपर्छ ।’ सुरुवाती दिनमा तत्कालीन माओवादीको सांस्कृतिक समूहबाट उनले गायन शुरु गरेकी हुन् ।

सबै खालको गीत गाउने गायिका खनालले आफ्नै लगानीमा चार वटा एल्वम निकालेकी छिन् । उनको पहिलो एल्वम ‘आमाको याद’ हो । यो एल्वममा गायिका खनालको शब्द, संकलन र स्वर रहेको छ । त्यसपछि उनले ‘ढाँका टोपी नयाँ’ नामक एल्वम निकालिन् । यो एल्वम रोइलामा आधारित छ । यसको शब्द र लय शिव हमालको हो ।

गायिका खनालले तीजको गीत ‘जाम माया’ पनि निकालेकी छिन् । यो एल्वमबाट उनी खुसी छिन् । ०७४ सालमा गायिका खनालले ‘खोलीमा चोली धुँदा खेरी’ बोलको एल्वम निकालेकी छिन् । गीत राम्रो बनेको उनको भनाइ छ । ‘खोलीमा चोली धुँदा खेरी’ बोलको गीतमा एकनारायण भण्डारीको शब्द रहेको छ । गीतबाट आफूलाई धेरैले चिन्ने गरेको उनी बताउँछिन् । भन्छिन्, ‘गायन क्षेत्रमा लागेपछि धेरै शुभेच्छुकहरू कमाएको छु । गुमाएको छैन । पैसाभन्दा पनि मेरा शुभेच्छुक मेरा लागि ठूलो हुनुहुन्छ ।’

विगत १५/१६ वर्षदेखि गायिका खनाल गायन पेसामा सक्रिय छिन् । गीतहरूमा स्वर दिँदै आएकी गायिका खनाल बेलाबेला स्टेज कार्यक्रमहरूमा पनि जाने गरेकी छिन् । स्टेज कार्यक्रमहरूमा उनले सबै खालका गीत गाउँछिन् ।

कलाकार भएका कारण मन पराउनेहरू धेरै हुने गरेको उनको बुझाइ छ । ‘म कलाकार हुँ । गायिका हुँ । मन पराउने धेरै हुन्छन्’, उनले भनिन्, ‘मैले सबैलाई समान रुपमा हेर्ने गरेकी छु ।’

लोकदोहोरीमा उनको रुचि धेरै छ । कार्यक्रमहरूमा उनले कसैको धक नमानेर गाउन थालिहाल्छिन् । भन्छिन्, ‘कसैले गाउन आग्रह गर्नुभयो भने खुसीखुसी गाउँछु ।’

गायन क्षेत्रमा लाग्न आफूलाई घर परिवारदेखि साथीहरूको सहयोग रहेको उनको भनाइ छ । ‘सानैदेखि गीतसंगीतमा लाग्ने रहर थियो । सानैदेखि गाउँथे । स्कुलका कार्यक्रमहरूमा गीत गाउँथे’, उनले भनिन्, ‘क्रमशः विभिन्न सांकृतिक कार्यक्रमहरू भाग लिँदा लिदै गायनमा लागेको थाहै भएन ।’

नेपाली गीत संगीतको क्षेत्रमा नयाँ पुस्ताको आगमनबाट उनी खुसी छिन् । भन्छिन्, ‘अहिलेको नयाँ पुस्ताको गीत धेरै राम्रा राम्रा छन् । मेहनतीहरू पनि छन् । केही कलाकारले धेरै सुधार गर्नुपर्ने पनि छ ।’

गीत संगीतको बद्नाम गर्ने समूहबाट उनी चिन्तित छिन् । गीतको शब्दहरूमा ध्यान दिनुपर्ने उनले बताइन् । ‘गीत जस्तो पायो त्यस्तै बनाउनु हुँदैन’, उनले भनिन्, ‘सबै कुरालाई ध्यान दिएर गीत बनाउनुपर्छ । जस्तो पायो त्यस्तो गीत बनाउँदा गीत संगीतप्रति शुभेच्छुकहरूको मन दुख्छ ।’ आफू पनि गायनमा सम्वेदनशील रहेको गायिका खनालले बताएकी छिन् । उनले अरुलाई पनि गायनलाई सम्वेदनशील रुपमा लिन आग्रह गर्छिन् ।

सरकारी पक्षबाट कलकारहरूलाई धेरै सहयोग गर्नुपर्ने खनालले बताइन् । ‘राज्यले कलाकारहरूलाई जति गर्नुपर्ने थियो गर्न सकेको छैन । गरेको छैन’, गायिका खनालले भनिन्, ‘गायक, गायिका, संगीतकार, गीतकारसहित गीत संगीतमा पर्दा पछाडि बसेर काम गर्नेहरूका लागि पनि केही न केही गर्नुपर्छ ।’

गीत संगीत र कलाकारिता क्षेत्रमा लागेकाहरूले आफ्नो मर्यादालाई कहिल्यै भुल्न नहुने गायिका खनालले बताइन् । ‘म कुन धरातलमा छु भन्ने कुरा भुल्नु हुँदैन । दर्शक, स्रोतालाई कहिल्यै पनि मानमर्दन गर्नु हुँदैन’, उनले भनिन्, ‘आफ्नो कलालाई जहिले पनि इमान्दारिता र लगनशीलताबाट प्रस्तुत गर्नुपर्छ ।’

अब तपाईले राजनीति गर्नु हुन्छ गर्नु हुन्न भन्ने प्रश्नको जिज्ञासामा उनले भनिन्, ‘पहिलाको जस्तो सक्रिय राजनीति गर्दैन । तर, झुकाव रहिरन्छ । आवश्यक परेर पार्टीले जिम्मेवारी दियो भने पछाडि पर्दैन ।’

राजनीति र गीत संगीत अलग अलग विषय भएपनि यी दुई एकआपसमा जोडिएको गायिका खनालले बताएकी छिन् । ‘मेरो मात्रै होइन सबैको चेतना राजनीतिबाट हुन्छ । राजनीतिलाई भुल्नु हुँदैन’, उनले भनिन्, ‘कुन बेला के गर्ने भन्ने कुरा आफूले निर्णय गर्ने हो । यही गर्छु भन्ने हुँदैन ।’