५ कार्तिक २०८३, बिहिबार

आफ्नो फिल्म चलाउन बोर्ड अध्यक्षद्वारा ‘कलंक’लाई दुई दिन प्रतिबन्ध !

4.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईलाई आफ्नो फिल्मलाई फाइदा पुग्नेगरी बुधबार विश्वभर रिलिज भएको बलिउड फिल्म ‘कलंक’लाई शुक्रबारसम्म प्रतिबन्ध गरेको अभियोग लागेको छ ।

धर्मा प्रडक्शनले निर्माण गरेको तथा संजय दत्त र माधुरी दिक्षितका जोडी झन्डै तीन दशकपछि पर्दामा देखिएका कारण कलंकलाई बुधबार नै रिलिज गरिएको थियो ।

तर निर्माताहरूको आग्रहका आधारमा भट्टराईले कलंकको दुई दिनको प्रदर्शनमा प्रतिबन्ध लगाए । उक्त फिल्मलाई शुक्रबारमात्र नेपालमा चल्न दिने निर्णयमा हस्ताक्षर दच्काए । निर्माताहरूले भट्टराईलाई बुझाएको पत्रमा नेपाली फिल्मचाहिँ शुक्रबार र बलिउड फिल्म बुधबार पनि रिलिज हुन नहुने उल्लेख थियो ।

कतिपयले भने भट्टराईको यो निर्णयमा उनी निर्मित फिल्म ‘यात्रा’को स्वार्थमा पनि प्रभावित भएको कतिपयले अथ्र्याएका छन् ।

करोडौं मुल्य तिरेर नेपालमा प्रदर्शन प्राधिकार पाएका हल सञ्चालकहरूले भने कलंकको प्रदर्शन रोकेको प्रति रोष प्रकट गरेका छन् । ‘नेपाली फिल्म पनि बुधबार चलाइएका छन् । यसअघि हिन्दि पनि चलेका हुन् । तर, अहिले आएर यो निर्णय लिनुको अर्थ के हो ? हलवालासँग परामर्श नगरी यस्तो निर्णय लिन पाइन्छ’, केही हल सञ्चालकले सोधेका छन्,‘बोर्ड अध्यक्षको यस्तो हठात् निर्णयले भोली नेपाली फिल्मलाई पनि अप्ठेरो पर्न सक्छ ।’

नेपाली फिल्म चारवटा पर्वबाहेक शुक्रबार नै रिलिज गर्ने परम्परा रहेको तर बलिउड फिल्मका लागि त्यो सीमा नरहेको कतिपयले तर्क गरेका छन् । तर, विशेष फिल्मबाहेक भारतलगायत विश्वभरी नै बलिउड फिल्म पनि शुक्रबारै रिलिज हुने गरेको छ ।’

बर्षमा सय वटा नेपाली फिल्म निर्माण हुने र हलमा त्यसले स्थान पाउँदा राम्रो व्यापार हुन सकेको थिएन । कतिपय आम साधारणले बोर्ड अध्यक्षको यस्तो निर्णयविरुद्ध अभिव्यक्ति दिँदै नेपाली फिल्म राम्रो बनाउन सुझाव दिएका छन् ।

केही निर्माता र हलवालाले भने सामाजिक सञ्जालमार्फत नै भट्टराईको कदमको खुलेर विरोध गरेका छन् । निर्देशकसमेत रहेका भाष्कर ढुंगाना लेख्छन्,‘कुन दिन फिल्म रिलिज गर्ने भन्ने विकास बोर्डको काम हो र ? निर्माता वितरक र प्रदर्शकबीचको समझदारीमा तय हुन्छ ? विकास बोर्डले फिल्मको डेट निकाल्ने त्यो पनि अध्यक्षको फिल्म चलेको बेलामा ? यो ‘कन्फ्ल्क्टि अफ इन्टे«ष्ट र पदको दुरुपयोग होइन र ?’

अर्का फिल्म निर्माता प्रदिप उदयले पनि भट्टराईको उक्त निर्णयको विरोध गरेका छन् । उनले दशैं, तिहार तिज र नयाँ बर्षमा अन्य दिन फिल्म चलाउन पाइने तर अन्य जाती विशेषका पर्वमा किन नपाउने भनेर सोधेका पनि छन् ।