
काठमाडौं, ३ वैशाख । आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत मंगलबारको खेलमा नेपालले ओमानलाई १५० रन अन्तरले पराजित गरेको छ ।
सेलंगोर टर्फ क्लबमा भएको खेलमा नेपालले दिएको २३० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको ओमानले ४४.१ ओभरमा सबै विकेटको क्षतिमा ७९ रन मात्रै बनायो ।
ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका पवन सर्राफले तीन विकेट लिए । त्यस्तै, सूर्य तामाङ र प्रतिश जिसीले दुई विकेट लिए ।
पहिले ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा सबै विकेटको क्षतिमा २२९ रन बनाएको थियो । कप्तान रोहितकुमार पौडेलले ७५ रन बनाए । ८१ बलको सामना गरेका रोहितले पाँच चौका र दुई छक्का प्रहार गरे ।
प्रतिश जिसीले विष्फोटक ब्याटिङ गर्दै ४१ रन बनाए । उनले २३ बलमा चार चौका र दुई छक्का प्रहार गरे । भीम सार्कीले ३९ रन बनाउँदा अभिषेक बस्नेतले १५ रन बनाए ।
ओमानका लागि मुजाहिर राजा, आजम अलि, सञ्जय रविन्द्र र जिल तन्नाले समान २–२ विकेट लिए ।















प्रतिक्रिया