
काठमाडौं, २९ चैत । आईसीसी यू–१९ विश्वकप क्रिकेटका लागि एसिया छनोटमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । शुक्रबारको पहिलो खेलमा नेपालले सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
मलेसियाको क्लालालम्पुरमा नेपालले दिएको २ सय ८३ रनको लक्ष्य पच्छाएको सिंगापुर ३१ ओभरमा ६५ रनमै समेटिएपछि नेपालले फराकिलो अन्तरको जित हात पारेको हो ।
नेपालका बलिरसामु सिंगापुरका ब्याट्स म्यान धराशायी बनेका थिए । सिंगापुरका इशान स्वानीले सर्वाधिक २८ रन भने साइ भेनु गोपालले १८ रन बनाए । अन्य ब्याट्स म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सिंगापुरलाई सस्तैमा समेट्न नेपालका पवन सरार्फले ३ विकेट हात पारे । यस्तै कुशल मल्ल र सुर्य तामांङले समान २र२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा अलआउट हुनुपूर्व २ सय ८२ रन बनाएको थियो ।
नेपालका कप्तान रोहितकुमार पौडेलले ९५ रनको उच्च योगदान दिए । नेपालका लागि राशिद खानले ४८, कमल सिंह ऐरीले ३१ तथा भिम सार्कीले २६ रन बनाए । पवन सर्राफ ४७ रनमा आउट भए ।
अब नेपालले दोस्रो खेलमा शनिबार युएईसँग खेल्नेछ ।















प्रतिक्रिया