८ कार्तिक २०८३, आइतबार

समायोजन भएका डाक्टरलाई सरुवा हुन र संघमा फर्कन अवरोध छैन : ऐन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । समायोजन भएर स्थानीय तहमा गएको चिकित्सक सोही जिल्लाको अर्को स्थानीय तहमा सरुवा हुन पाउँदैन भन्दै सरकारी चिकित्सक आन्दोलित छन् ।

उनीहरूको आन्दोलनले पाँच दिनदेखि सरकारी अस्पताल ठप्प छन् । तर, समायोजनको नेतृत्व गरिरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ऐनमा भएको व्यवस्था पनि प्रस्ट पार्न खोजेको छैन । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

समायोजन ऐन, २०७५ ले समायोजन भएर स्थानीय तह वा प्रदेश सेवामा गएका कर्मचारीलाई नियमित बढुवा प्रक्रिया र अन्तरसेवा प्रतिस्पर्धाबाट संघमा आउन सक्ने बाटो खुला गरेको छ । यस्तै स्थानीय तहमा समायोजन भएका कर्मचारी सम्बन्धित प्रदेशभित्रका कुनै पनि स्थानीय तहमा सरुवा हुन सक्नेछन् । प्रदेशमा समायोजन भएका कर्मचारी प्रदेशभित्र सरुवा हुन सक्ने व्यवस्था छ ।

समायोजन ऐन, २०७५ को दफा १४, १५ र १६ मा सरुवा, बढुवा र वृत्ति विकाससम्बन्धी व्यवस्था छ । दफा १४ को उपदफा १ मा प्रदेशमा समायोजन भएका कर्मचारी प्रदेश कानुनमा तोकिएको अवधि पूरा गरी सम्बन्धित प्रदेशभित्रका कार्यालयमा सरुवा हुन सक्ने व्यवस्था छ ।

सो दफाको उपदफा ४ ले स्थानीय तह वा प्रदेशमा समायोजन भएका कर्मचारी बढुवा भएर संघमा आउन सक्ने व्यवस्था गरेको छ । सो दफामा भनिएको छ, ‘स्थानीय तह वा प्रदेशमा समायोजन भएका कर्मचारी संघीय निजामती सेवा ऐनबमोजिम आन्तरिक प्रतियोगिता, ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमता मूल्यांकनद्वारा हुने बढुवाका लागि समायोजन हुनुपूर्व बहाल रहेको सेवा, समूह वा उपसमूहको एक श्रेणी वा तहमाथिको पदमा उम्मेदवार हुन सक्नेछन् ।’

तर, सरकारी चिकित्सकहरूले समायोजन भएर गएको एक स्थानीय तहबाट अर्कोमा र एक प्रदेशबाट अर्को प्रदेशमा सरुवा हुन नसक्ने तथा उनीहरू सेवाअवधिभर संघमा आउने बाटो पनि बन्द भएको भन्दै आन्दोलन गरिरहेका छन् ।

समायोजन ऐनको दफा १५ ले चिकित्सकहरूको चिन्तालाई निराकरण गरेको छ । सो दफाको (च) मा भने स्थानीय तहमा समायोजन भएका कर्मचारी सम्बन्धित प्रदेशभित्रका जुनसुकै स्थानीय तहमा सरुवा हुन सक्ने व्यवस्था छ । यस्तै सोही दफाको (छ) मा अन्तरसेवा प्रतिस्पर्धामार्फत प्रदेश र स्थानीय तहमा बढुवा भएर जान सक्ने व्यवस्था छ ।