
काठमाडाैँ, २५ चैत । जाजरकोट जिल्ला क्षेत्र नं २ का पूर्वसांसद राजिव विक्रम शाह एथलेटिक्स संघको अध्यक्ष चयन भएका छन् । पूर्व सांसद शाह आइतबार चितवनमा सम्पन्न अधिवेशनबाट नेपाल एथलेटिक्स संघको केन्द्रिय अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
शाह खेलकुदलाई राजनीति भन्दा टाढा राख्नुपर्ने मान्यता राख्दछन् । नेपाल एथ्लेटिक्स संघमा यो भन्दा पहिले पनि शाह नै अध्यक्ष रहेका थिए । उनको संगठनबाट तेस्रो एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले स्वर्ण पदक ल्याउन सफल भएका थिए ।
यस वर्ष हङकङमा भएको तीन हजार मिटर दौड आठ मिनेट ३०.३२ सेकेण्डमा पूरा गर्दै यादवले नेपाललाई युथ एशियाली खेलकूदमा पहिलोपटक स्वर्ण पदक दिलाउन सफल भएका हुन् ।
उनले एशियन युथ एथ्लेटिक्समा भारत, यमन, चीन, जापान, चाइनिज ताइपेइ, काजकिस्तान, इरान, दक्षिण कोरिया, हङकङ, सिङ्गापुर, मलेशिया, साउदी अरेबिया र थाइल्याण्डलाई हराएका हुन् ।
यस्तै, श्रीलङ्का, उज्वेकिस्तान, इण्डोनेसिया, ओमन, भूटान, जोर्डन, कीर्गिस्तान, कुवेत, लेवनान, मकाउ, माल्दिभ्स, फिलिपिन्स, भियतनाम र कतारका खेलाडीलाई पनि पराजित गरेका थिए ।
राज्यले केही सिमित खेल भन्दा पनि सबै खेलहरुमा समान भाव राख्नुपर्ने पूर्व सांसद शाहको धारणा रहेको छ । हरेक खेल र खेलाडीप्रति राज्यले गर्व गर्नुपर्ने अध्यक्ष शाह बताउँछन् ।
वि.सं. २००४ सालमा स्थापना भएको संस्थाको प्रत्येक चार–चार वर्षमा अधिवेशन सम्पन्न हुने गरेको छ । शाहले पछिल्लो समय राजनीतिसँगै समाजसेवामा पनि आफ्नो बलियो परिचय बनाएका छन् ।















प्रतिक्रिया