५ कार्तिक २०८३, बिहिबार

चर्चित लोक गायक खर्क बहादुर बुढामगर र लिलावतीले ‘युगल साँझ’ गर्ने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ । चर्चित लोक गायक एवम् वरिष्ठ वाद्यवादक खर्क बहादुर बुढा मगर र उनकी धर्मपत्नी लिलावती बुढा मगरले यही चैत्र २९ गते काठमाडौंको जमलस्थित् राष्ट्रिय नाचघरमा ‘युगल साँझ’ गर्ने भएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा सल्यान सरोकार समाजले ‘युगल साँझ’बारे जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गायक बुढामगरले सबै तयारी भैसकेको बताए । उनका अनुसार युगल साँझ दिउँसो २ बजेदेखि सुरु हुनेछ । युगल साँझ उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यमा भव्य र सभ्य रुपमा सम्पन्न हुने गायक दम्पत्तिले विश्वास दिलाए ।

सगरमाथा टेलिभिजनबाट ३ घण्टा ३० मिनेट प्रत्यक्ष प्रशारण हुने कार्यक्रममा कम्तिमा १२ वटा गीत प्रस्तुत गर्ने पनि गायक बुढामगरले जानकारी दिए । उनले भने, ‘विशेषगरि सल्यानमा नाचिने पैंसेरुँ, सोरठी र टप्पा नाँच पनि हामी प्रस्तुत गर्छौं । यी पौराणिक, मौलिक नाँचको प्रस्तुतीका लागि सल्यानबाटै स्थानीय कलाकारहरु आउनु हुनेछ । यसबाट सल्यानको मात्र नभई सम्पूर्ण कर्णालीको संस्कृतिको एउटा पाटोलाई झल्काउने छ ।’

आफ्नो सांगितिक यात्राको दौरानमा करिब २०० वटा लोकगीतहरु यो जोडिले रेकर्ड गरिसकेको छ । उनीहरुका व्यवसायिक भन्दा मौलिक र स्थानीय लोक गीतहरु रहेका छन् ।

खर्क बहादुर बुढा मगर गायक मात्र नभएर नेपालकै अब्बल वाद्यवादक हुन् । उनको ३१ वर्षे सांगितिक यात्रामा करिब २५००० (पच्चिस हजार) भन्दा बढी नेपाली लोकगीत तथा संगीतमा मादलका तालहरु रेकर्ड गराएका छन् । उक्त युगल साँझको दिन मादलको मात्रै एउटा सोलो प्रदर्शन उनीलगायतको समूहले गर्नेछ ।

मादल वाद्यकको इतिहास हेर्ने हो भने खर्क बहादुर बुढालाई ‘मादल सम्राट’को उपाधीले विभुषित गर्दा उनको यसप्रतिको साधना र लगावको सम्मान हुने सल्यान सरोकार समाजको भनाई छ ।

समाजले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘जसको लागि यस समाजले उक्त उपाधि दिलाउनका लागि अभियानकै नेतृत्व गर्ने जानकारी पनि यहाँ गराउँदछौं । तर, यो अभियानमा तपाईं पत्रकार ज्यूहरुको सहयोग विना कल्पना पनि गर्न सकिदैन । यो कार्यक्रमको मुख्य उद्देश्य सल्यान र कर्णाली प्रदेशको लोक संस्कृतिको संरक्षण, प्रचार–प्रसार र अन्तर्राष्ट्रिय स्तरको नेपाली प्रतिभा उत्पादन गर्नु रहेको छ ।’

उक्त ‘युगल साँझ’ कार्यक्रमलाई सम्पन्न गर्नको लागि सल्यानका १० वटै स्थानिय सरकार, कर्णाली प्रदेशको पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, बैंकहरुको विशेष आर्थिक सहयोग रहेको पनि समाजले स्पष्ट पारेको छ । त्यस्तै, अन्य गैर–सरकारी संघ–संस्था र थुप्रै शुभचिन्तकहरुले साथ सहयोगको आश्वासन दिएको पनि समाजले जनाएको छ ।