४ कार्तिक २०८३, बुधबार

शनिबार हुने मातृभूमी कप क्रिकेटको तयारी पुरा, उपस्थित हुन धुर्मुसको आग्रह

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २२ चैत । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको सहयोगार्थ शनिबार हुने मातृभूमी कपको सम्पुर्ण तयारी सकिएको छ । मातृभूमी कपका लागि राष्ट्रिय कलाकारहरुको टिम समेत फाईनल भएको फाउण्डेशनले जानकारी दिएको छ ।

मातृभूमी कपका लागि कलाकार समूहको तर्फबाट सम्पुर्ण कलाकारहरु खेल खेल्न पूर्ण तयारीका साथ बसिरहेका छन् । कलाकारहरुलाई राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक जगत टमाटा र कलाकार सुनिल थापाले प्रशिक्षण दिएका थिए ।

‘खेलाडीहरुको खेलका लागि पुरा तयारी सकिएको छ’ फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले भने ‘भोलिको प्रतियोगिता रोमान्चक मात्र नभई एउटा पर्फेक्ट मनोरञ्जनको प्याकेज पनि हुनेछ ।’ प्रतियोगितामा राष्ट्रिय टिमका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल आमने सामने हुनेछन् ।

पारस खड्काको कप्तानीमा ‘राष्ट्रिय टिम ए’ र ज्ञानेन्द्र मल्लको कप्तानीमा ‘राष्ट्रिय टिम बी’बीच रोमान्चक २० ओभरको खेल हुनेछ भने कलाकारहरुको तर्फबाट मदनकृष्ण श्रेष्ठको कप्तानीमा ‘कलाकार ए’ र हरिवंश आचार्यको कप्तानीमा ‘कलाकार बी’बीच १० ओभरको खेल हुनेछ ।

रङ्गशाला निर्माणको सहयोगार्थ प्रतियोगिता गर्न लागिए पनि यसबाट संकलित रकमको १५ प्रतिशत आँधी प्रभावितहरुका लागि खर्च गरिने फाउण्डेशनले जानकारी दिएको छ । मातृभूमी कपका लागि निरन्तर टिकट बितरण भईरहेको छ । ईसेवा मार्फत अनलाइन टिकट खरिद गर्न सकिनेछ भने भोलि खेलमैदानमा समेत टिकट उपलब्ध हुनेछ । खेल भोलि बिहान १० बजेदेखी सुरु हुनेछ ।