
काठमाडाैँ, २१ चैत । आठौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन्।
प्रदेश नम्बर ५ मा आगामी वैशाख ५ देखि ११ गतेसम्म हुने बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको नेपालगञ्ज रंगशालामा वैशाख ५ गते साँझ भव्य समारोहबीच राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ।
उद्घाटन समारोहमा प्रदेशैपिच्चेका खेलाडीको मार्चपास, सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रस्तुत गरिनेछ। यस्तै प्रतियोगिताको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। । सोही रंगशालामा वैशाख ११ गते साँझ आयोजित कार्यक्रममा समापन गरिनेछ।
यसअघि पूर्वाञ्चलमा आयोजना गरिएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए। सोही समापन समारोहमा नवौँ राष्ट्रिय खेलकूदको मिति र स्थानसमेत घोषणा हुने राखेपले जनाएको छ।
प्रतियोगिताका खेल भने यही चैत २७ गतेदेखि शुरु हुनेछन्। प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र गैरआवासीय नेपाली संघ ९एनआरएन० गरी ११ टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडीले प्रतिष्पर्धा गर्ने छन्।
प्रतियोगितामा ३७२ स्वर्ण, ३७२ रजत र ५६३ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ। -रासस















प्रतिक्रिया