लुम्बिनी (रुपन्देही), २८ माघ । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत नेकपा (माओवादी)सहितका ३० दलीय मोर्चालाई आन्दोलनको बाटो त्यागेर वार्ता र संवादको बाटोमा आउन आग्रह गर्नुभएको छ ।
एमाओवादीका कारण तोकिएको समयमा संविधान जारी गर्न नसकिएको बताउँदै नेता नेपालले सबैको साझा प्रयासमा संविधान जारी गर्न सकिए संविधान दिगो हुने बताउँदै सहमतीय बाटोबाट अगाडि बढ्नका लागि वार्तामा आउन आग्रह गर्नुभयो ।
प्रेस चौतारी नेपाल रुपन्देहीले आज बिहान भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले भन्नुभयो, ‘‘सहमतिकै नाममा एक वर्षको समय खेर गयो । संविधान निर्माणमा नेपाली काँग्रेस र नेकपा एमाले सकारात्मक हुँदाहुँदै पनि एमाओवादीसहितका दलहरूको मानसिकता उदार नहुँदा संविधान बन्न सकेन ।’’
संविधान निर्माणका लागि सहमतिको अधिकतम प्रयास गर्दागर्दै पनि एमाओवादी सहमतिमा नआएपछि संविधानसभा प्रक्रियामा अगाडि बढेको उहाँको विश्लेषण छ ।
“सहमतिका लागि सबै पक्षको उत्सुकता र आतुरता हुनुपर्ने हो,” उहाँले एमाओवादी र मधेसी दलतर्फ लक्षित गर्दै प्रश्न गर्नुभयो– “सहमतिका लागि हामी तयार छौँ उहाँहरु कहिलेसम्म आउनुहुन्छ ?”
मुलुकको भौगोलिक विविधतालाई सम्पत्तिका रूपमा स्वीकार गर्दै जानुपर्नेमा जोड दिँदै उहाँले एकल जातीय पहिचानका आधारमा राज्यको विभाजन तथा नामाकरण हुन नसक्ने बताउनुभयो ।
उहाँले नेकपा– माओवादीलाई पनि मूलधारको राजनीतिमा आउन आग्रह गर्नुभयो । रासस
















प्रतिक्रिया