८ कार्तिक २०८३, आइतबार

५१ यात्रुलाई फिर्ता पठाएपछि विमानस्थलमा बबाल, नेपाल वायु सेवा निगम खाली दुबई उड्यो

40.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । नेपाल वायु सेवा निगमको जहाजबाट दुबई जाने क्रममा रहको ५१ जना यात्रु एकाएक फिर्ता भएपछि प्रहरीले उक्त घटनाका बारेमा अनुसन्धान शुरू गरेको छ।

सोमबार बेलुकी नेपाल वायु सेवा निगमको आरए २२९ नम्बरको उडानबाट दुबई जाने टिकट काटेका यात्रुलाई विमानस्थलको अध्यागमन कार्यालयले आवश्यक कागजात नपुगेको भन्दै सोधपुछ शुरू गरेपछि नेपाल वायु सेवा निगमको विमानस्थल कार्यालयले बोडिङपास दिएका ५१ जनाको पास फिर्ता लिएपछि प्रहरीले उक्त घटनाका बारेमा छानविन शुरू गरेको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षत्रीले उक्त घटनाका बारेमा अनुसन्धान शुरू गरिएको जानकारी दिनुभयो। नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

भिजिट भिसामा दुबई पठाउन विभिन्न ट्राभल एजेन्सीले प्रतिव्यक्ति २ लाख ५० हजार रुपियाँ लिएर विमानस्थल पठाएको भए पनि सेटिङ नमिलेपछि उनीहरू फिर्ता भएको बताइएको छ।

नेपाल वायु सेवा निगमको विमानस्थल कार्यालय र एजेन्टबीच सेटिङ भए पनि अध्यागमन कार्यालयका कर्मचारीबीच सेटिङ नमिलेपछि शुरूमा गएका ६ जना सुनील सेन, अनिल खड्का, विकास शाही, मिलन खड्का र टामस राईलाई फिर्ता पठाएपछि विमानस्थलमा रहेको नेपाल वायु सेवा निगमको काउन्टरले ५१ जनाको बोडिङ पास फिर्ता लिएर विमानलाई रित्तै दुबई उडाएको थियो।

प्रहरीले सेटिङमा नेपालीलाई खाडी मुलुक पु¥याउने र त्यहाँ अलपत्र पार्ने क्रम बढेको भन्दै कडाइ गरेपछि बिचौलिया अहिले छटपटिन थालेको बताइएको छ। प्रहरीले उक्त घटनाका बारेमा छानविन शुरू गर्न लागेपछि भिजिट भिसामा दुबई पठाउने गिरोह अहिले सरकारी निकायकहाँ धाउन थालेका छन्।

उक्त घटनाका बारेमा नेपाल वायु सेवा निगमका प्रवक्ता तथा क्याप्टेन विजय लामाले दुबई जाने क्रममा रहेका ५१ नेपाली यात्रुलाई अध्यागमन कार्यालयले फिर्ता पठाएको जानकारी दिनुभयो।

निगमले दुबईको भिसा हेरेर नै टिकट काटेको हो, एक दुई जनाको पो डकुमेन्ट नमिलेको हुन सक्छ ५१ जनाको डकुमेन्ट नमिलेको भन्दै फिर्ता पठाउनु निगमका लागि मात्र घाटा नभएर नेपाली जनताका लागि घाटा भएको प्रवक्ता लामाले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘५१ जना यात्रुलाई छोडेर बिमान उडाउनुपर्दा निगमले ठूलो आर्थिक हानी ब्यहोर्नुपरेको छ। एक दुईको पो डकुमेन्ट फेक हुन सक्छ यस विषयमा छानविन हुन जरुरी छ।’

यस विषयमा बिमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख कुमारबहादुर खड्कासँग बुझ्दा उहाँले यस विषयमा बिमानस्थलको वरिष्ठ अध्यागमन अधिकृतसँग बुझ्न आग्रह गर्नुभयो। बिमानस्थलका कुनै पनि वरिष्ठ अध्यागमन अधिकृत सम्पर्कमा आउन चाहेनन्।