२ कार्तिक २०८३, सोमबार

म्याग्दी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, २८ माघ । जिल्ला कारागार म्याग्दीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या देखिएको छ ।

बन्दीगृहका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारको निर्माण गर्न नसक्दा कारागारमा रहेका कैदीबन्दीलाई समस्या भएको हो ।

पच्चीस पुरुष र सात महिला गरी ३२ जना कैदीबन्दी राख्न मिल्ने क्षमता रहेको कारागारमा हाल तेब्बरभन्दा बढी रहेको कारागारका सूचना अधिकारी प्रमोदकुमार मण्डलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले कारागारमा पुरुष ७५, महिला तीन गरी ७८ जना कैदी र पुरुष १८, महिला एक गरी १९ जना थुनुवा रहेका छन् ।

समाजमा आपराधिक घटना बढ्दो क्रममा रहेको र सजाय भुक्तान गरी निस्कनेको सङ्ख्याको अनुपात कम हुँदा कारागारमा बर्सेनि कैदीबन्दीको सङ्ख्या बढ्दै गएको जेलर खगराज शर्माले बताउनुभयो ।

कारागारमा रहेका कैदीबन्दीमध्ये कर्तव्य ज्यान मुद्दामा ४२, ज्यान मार्ने उद्योगमा तीन, लागुऔषधमा तीन, डकैती चोरीमा पाँच, चोरीमा एक, नकबजनी चोरीमा दुई, जबर्जस्ती करणीमा २६, जर्बजस्ती करणी उद्योगमा पाँच, हातहतियार खरखजानामा दुई, बहुविवाहमा दुई र ठगी मुद्दामा तीन जनाले आफ्नो कसुरको सजाय भुक्तान गरिरहेका छन् ।

भवनको अभावमा अहिले कैदीबन्दी भान्सा कोठा, बरन्डा, खालीठाउँ, बीचबीचको गल्लीमा सुतेर रात कटाउनुपर्ने बाध्यता रहेको छ ।

बन्दी राख्नका लागि भवन अभावका सम्बन्धमा कारागार व्यवस्थापन विभागमा ताकेता गरेको कारागारले जनाएको छ ।

हालै कारागारको अनुगमनका लागि आउनुभएका कारागार व्यवस्थापन विभागका निर्देशक मोहन वाग्लेसमक्ष कारागारको दीर्घकालीन योजना बनाएर पूर्वाधार निर्माणको माग बुझाएको जेलर शर्माले जानकारी दिनुभयो ।