९ कार्तिक २०८३, सोमबार

एमाओवादी मोर्चामै फरक मत: गच्छदारले गरे प्रचण्डको आलोचना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-Bijay-Gacchadar

काठमाडौँ, २७ माघ । एमाओवादी नेतृत्वको विपक्षी मोर्चामा रहेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कडा आलोचना गर्नुभएको छ ।

राजधानीमा मंगलबार रिपोर्टर्स क्लव नेपालसँगको साक्षात्कारमा गच्छदारले प्रचण्डको आलोचना मात्रै गर्नुभएन, प्रचण्डकै कारण सहमति हुन नसकेको ठोकुवा समेत गर्नुभयो ।

आफूले राजनीतिक सहमतिका लागि गरेको प्रस्तावलाई प्रचण्डले बेवास्ता गर्दा अहिले दलहरुबीच सम्वादको तार टुटेको गच्छदारको दाबी छ । उहाँले भन्नुभयो, ‘मैंले संविधानको अन्तरवस्तुमा विद्यमान विवाद समाधानका लागि बीचको मार्ग प्रस्ताव गर्दा प्रचण्डजीले त चाहनुभएको थियो तर उहाँले एसर्ट गर्न सक्नुभएन, मेरो कुरा मानिदिएको भए देश सहमतिको बाटोमा निकै अघि बढिसक्थ्यो ।’

एमाओवादी अध्यक्ष प्रचण्डले समयमा सशक्त निर्णय लिन नसकेकोे गुनासो गर्दै उहाँले भन्नुभयो, ‘बेलामा दरिलो निर्णय लिन नसके नेता भइँदैन ।’

Bijay-Gacchadar1

प्रचण्डलाई इंगित गर्दै उहाँले विजय गच्छदारको राष्ट्रिय राजनीतिमा उच्च मूल्यांकन हुन्छ भनेर देख्न नचाहनेहरुले आफ्नो गतिलो प्रस्तावलाई समेत बेवास्ता गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘विजय गच्छदारका कारण सहमति भयो भन्ने सन्देश जाला भन्ने पीर धेरैमा छ ।’ मधेशमा तीन वा चार प्रदेश बनाउँदा कुनै फरक नपर्ने तर्क समेत उहाँले गर्नुभयो ।

गच्छदार आन्दोलनको विपक्षमा

एमाओवादी नेतृत्वको विपक्षी मोर्चाका नेता विजयकुमार गच्छदारले आफू आन्दोलनको पक्षमा नरहेको प्रष्टीकरण दिनुभएको छ ।

आफू आन्दोलनको पक्षमा नभएको स्पष्ट पार्दै देशले आन्दोलन र द्वन्द्व थेग्न नसक्ने बताउनुभयो । आन्दोलनको सोचलाई हावी हुन नदिनेतर्फ आवश्यक कदम चालिहाल्नुपर्नेमा जोड दिदैँ उहाँले भन्नुभयो– ‘मुलुक बन्द, आमहडताल र आन्दोलनमा जानै सक्दैन, त्यसलाई रोक्न सहमतिको विकल्प छैन ।’

गच्छदारले सत्तारुढ दलले दुई तिहाईको बहुमतबाट संविधान जारी गर्ने दम्भ त्याग्नुपर्ने र प्रतिपक्षीहरुले सडकमा जाने हठ त्याग्नुपर्ने धारणा अघि सार्नुभयो ।

अनौपचारिक वार्ता अघि बढ्यो

गच्छदारले सहमतिको वातावरण निर्माणमा प्रधानमन्त्री सुशील कोइराला चुके देश द्वन्द्वमा जाने बताउनुभयोे । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीजीको काँधमा गहन जिम्मेवारी आएको छ, त्यसलाई उहाँले निर्वाह गर्न सक्नुभएन र टुटेको वार्ता प्रक्रियालाई तत्काल जोड्न यो भन्दा बढि लचकता प्रर्दशन गर्न सक्नु भएन भने मुलुक ठूलो द्वन्द्वमा फस्छ ।’

औपचारिक वार्ता अगाडि बढिसकेको खुलासा गर्दै गच्छदारले भन्नुभयो,‘मलाई विश्वास छ आज र भोलिभित्र वार्ताको वातावरण बन्नेछ, मैले प्रधानमन्त्री कोइरालाजीसँग तीनपटक टेलिफोनमा कुरा गरेको छु, सत्तापक्षका नेताहरुसँग पनि कुराकानी भैरहेको छ, त्यसैले उहाँहरुले विश्वासको वातावरण बनाउनुपर्छ, उहाँहरुले बडो उदारताका साथपहल लिनुपर्छ ।’