४ कार्तिक २०८३, बुधबार

आइपीएलको पहिलो खेलमै सुपर किंग्स र रोयल च्यालेन्जर्स खेल्ने

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ९ चैत । इण्डियन प्रिमियर लिग आईपीएलको १२ औं संस्करण शनिबारदेखि सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच खेल हुनेछ ।

भारतीय क्रिकेट टोलीका सबैभन्दा सफल कप्तान महेन्द्र सिंह धोनी र वर्तमान कप्तान विराट कोहलीले नेतृत्व गरेको दुई टिमबीचको खेल चेन्नईको एमए चिदाम्बरम र‌ंगशालामा आज साँझ सवा ८ बजेदेखि सुरु हुनेछ ।

आईपीएल इतिहासमै सबैभन्दा सफल टिम चेन्नई साविक विजेता पनि हो । उसले अहिलेसम्म ३ पटक उपाधि जितेको छ भने ४ पटक उपविजेता बनेको छ । विराट कोहलीले नेतृत्व गरेको बेंगलोर भने आईपीएलको अभागी टोलीको रुपमा गनिन्छ । किनभने स्टार खेलाडीले भरिएर पनि उसले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

सीएसके र आरसीबी अहिलेसम्म आईपीएलमा २२ पटक आमने(सामने भएका छन् । जसमध्ये १४ खेलमा सीएसकेले जित हात पारेको छ भने ७ खेलमा आरसीबीले जित हात पारेको छ ।

एक खेल भने नतिजाविहीन भएको छ । चेन्नईका लागि सुरेश रैना, शेन वाट्सन तथा अम्बाती रायुडुले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ भने बेंग्लोरबाट कप्तान विराट कोहलीसहित एबी डि भिलियर्स, शिमरन हेटमेयर, शिवम दुबे तथा हेनरिक क्लासेनले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गर्न सकिन्छ ।

दुवै टिम स्टार खेलाडीले भरिपूर्ण भएकाले पनि आईपीएल २०१९ को पहिलो खेल नै रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ ।

यसपटक आईपीएलमा ८ टिमको सहभागिता छ ।चेन्नई र बेंगलोरका अलावा मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र किंग्स इलाभेन पन्जाब आईपीएलमा सहभागी टिम हुन् ।

नेपाली युवा स्टार सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट खेल्दैछन् । यसअघिको सिजनमा अन्तिम तीन खेलमा मात्र अवसर पाएका सन्दीप यसपटक सुरुवातदेखि नै पहिलो रोजाइमा पर्ने अपेक्षा गरिएको छ ।