काठमाडौं, ६ चैत । आमाको नाममा नागरिकता जारी गर्दा बाबुको पहिचान अनिवार्य हुनु नपर्ने भएको छ । संसद्को प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था समितिले ‘नागरिकता विधेयक’ माथिको छलफलका क्रममा यस्तो व्यवस्था गर्ने निर्णय गरेको हो ।
आमाको नामबाट नागरिकता लिँदा पनि बाबुको नाम अनिवार्य राख्नुपर्ने व्यवस्था हटाएर समितिले बाबुको पहिचान नखुलाए पनि हुनेमा सांसदले सहमति जनाएका हुन् । राजधानी दैनिकले समाचार छापेको छ ।
तर, बाबुको पहिचान हुन नसकेको बेहोरा भने उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । समितिको निर्णय संघीय संसद्को दुवै सदनबाट पारित भएमा नागरिकता बनाउन जाँदा महिलाले बाबु पहिचान हुन नसकेको मात्र बेहोरा जानकारी गराए हुनेछ । लामो समयदेखि आमाको नाममा नागरिकता लिन बाबु पहिचान हुनुपर्ने वा नपर्ने विवाद हुँदै आएको थियो ।
गृह मन्त्रालयले मास्यौदा तयार पारी संसद्मा पेस गरेको विधेयकमा आमाको नागरिकता बनाउन बाबुको पहिचान खुल्नुपर्ने व्यवस्था गरिएको थियो । समितिबाट विधेयक पारित भएपछि संसद् बैठकमा पेस हुनेछ । संसद्का दुवै सदनबाट पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनी रूप लिनेछ ।
यसैगरी, नागरिकतामा अब आफ्नो उपनाम राख्न पाइने भएको छ । नागरिकता विधेयकको दफा ५ मा नागरिकता लिँदा आफ्ना समुदायको थर वा उपनाम राख्न पाइने व्यवस्था गरिएको छ ।
‘यस ऐनबमोजिम नागरिकता लिने कुनै पनि समुदायको व्यक्तिले चाहेमा सम्बन्धित समुदायभित्रको थर वा कुनै उपनाम राखी तोकिएबमोजिम नागरिकताको प्रमाणपत्र लिन सकिनेछ,’ विधेयकमा भनिएको छ । नागरिकता विधेयक हाल राज्य व्यवस्था समितिमा छदफलका क्रममा छ ।















प्रतिक्रिया