४ कार्तिक २०८३, बुधबार

मदन भण्डारी खेलग्रामको शिलान्यास

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, २ चैत । सप्तरीको कञ्चनरूप नगरपालिका–९ स्थित खयरवनमा निर्माण गर्न लागिएको मदन भण्डारी खेलग्रामको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले आज एक समारोहका बीच शिलान्यास गर्नुभयो ।

एक सय २४ बिघामा खेल ग्राम निर्माणका लागि यस आर्थिक वर्ष रु २५ लाख विनियोजन भई काम शुरु हुन लागेको जिल्ला खेलकूद विकास समितिका प्रमुख दिनेश भुजेलले जानकारी दिनुभयो ।यसैगरी राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाले सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ९ र १२ रुपनगरमा मदन भण्डारी मार्गकोे शिलान्यास गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष तिम्सिनाले खेलाडीको शारीरिक र मानसिक विकास नभएसम्म खेलकूदको विकास नहुने बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रियसभाका सांसद सुमनराज प्याकुरेलले नेपाली जनताको सुख, शान्ति, सुशासन भन्ने सपनालाई साकार पार्न समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई अघि सारी सरकारले विकास निर्माणको कार्यलाई तीव्रताका साथ अगाडि बढाइ रहेको बताउनुभयो ।

शिलान्यास भएको यो खेलमैदानलाई नेपालकै उत्कृष्ट खेलमैदान बनाउन आफू लागि पर्ने उहाँले विश्वास दिलाउनुभयो ।
सो कार्यक्रममा प्रतिनिधि सभाका सांसद सरिता गिरीले विकास निर्माणको सवालमा सप्तरी जिल्ला सधैँ अगाडि हुनुपर्छ भन्दै यस खेलमैदानलाई नमूना बनाउनका लागि आफू लागि पर्ने बताउनुभयो ।

शिलान्यास गरिएको सो मदन भण्डारी मार्ग रुपनगर चोकदेखि चर्खिया, बसतीपुर, पौडाहा खोला हुँदै उदयपुर जिल्लाको सिवाइ हुँदै पहाडी मार्गसम्म जोडिने छ । यसका लागि करीब रु एक करोड विनियोजन भई ठेक्का लागि सम्झौता हुने तयारीमा रहेको सडक डिभिजन कार्यालय लहानले जनाएको छ । ’  रासस