५ कार्तिक २०८३, बिहिबार

कता छ रोयल्टीको २२ लाख ? अध्यक्षकी पत्नी मालामाल

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संगीत रोयल्टी संकलन समाज नेपालको गत महिना सम्पन्न भएको साधारण सभामा आर्थिक प्रतिबेदनमाथि उठेको प्रश्नलाई निरुपण गरी विशेष साधारण सभामा पेश गर्ने गरी तीन सदस्यीय समितिलाई दिएको एक महिनाको समय बितेको छ ।

साधारण सभाले समाजका सदस्य एवम् गीतकार संघका अध्यक्ष चुडामणि देबकोटाको संयोजकत्वमा महेश खड्का र सुवास रेग्मी सम्मिलित तीन सदस्य रहेको समिति गठन गरेको थियो । खड्का समाजका तत्कालीन महासचिव र अहिलेका अध्यक्ष हुन् । रेग्मी वर्तमान कार्यसमितिका उपाध्यक्ष छन् ।

साधारण सभामा प्रस्तुत लेखापरीक्षकले तयार पारेको प्रतिवेदन अनुसार कोषमा झण्डै ९२ हजार रहेको तर, रोयल्टी बितरण गर्नुपर्ने दायित्व अन्तर्गत झण्डै १ करोड १४ लाख रहेको उल्लेख छ ।

२२ लाख कता गयो ? भन्ने सदस्यहरूको प्रश्नलाई कोषाध्यक्ष, समाजका एकाउन्टेन्ट र तत्कालीन अध्यक्षले दिएको जवाफमा चित्त नबुझेको भनेपछि साधारण सभाले समिति गठन गरेको थियो । समितिलाई तीन महिनाको समय अबधि तोकिएको छ ।

समितिका संयोजक देबकोटाले अहिलेको समितिलाई छुट्टै स्वतन्त्र समितिको स्वरुप नदिए यो प्रकृयामा अग्रसर हुने अनिच्छा प्रकट गरेका छन् । यद्यपि महेश खड्का भने यही समितिले कार्य अगाडि बढाउने भन्दै अडान राख्दै आएको स्रोतले जनाएको छ ।

समाजका पूर्वअध्यक्ष राजेन्द्र थापाले पनि यो कुरालाई जोडतोडका साथ उठाउँदै समितिमा रहेका सदस्य नै छानबिनको घेरामा रहेकाले समितिका सदस्य हेरफेरको लागि दवाव सिर्जना गरेका छन् । फलस्वरुप समितिको सदस्य अदल बदल र थपघट हुन सक्ने अबस्था आईपुगेको स्रोतले बताएको छ ।

यो विषय खास के हो भनेर तत्कालीन कोषाध्यक्ष लोकराज अधिकारीसँग बुझ्न खोज्दा उनले भने, ‘आर्थिक वर्षको मौजुदा कार्य समितिले अनुमोदन गरेको आर्थिक प्रतिबेदन मैले साधारण सभामा बाचन गरेको हुँ । त्यसमा प्रश्न उठयो छानबिनका लागि समिति बनाइयो समितिले छानबिन गर्ला के हो यथार्थ भन्ला ।’ उनले समितिलाई सहयोग गर्न आफू जतिबेला पनि तैयार रहेको बताएका छन् ।

घोटाला त भएकै रैछ नि ? भन्ने प्रश्नको जवाफमा अधिकारीले भने, ‘मैले एक पैसा अपचलन गरेको छैन । कही कतै भेटियो भने सहुला बुझाउला कोषाध्यक्षको जिम्मेवारी सम्हालेको हैसियतले ।’

के त्यसो भए अध्यक्ष र महासचिवले खाएका हुन त पैसा भन्ने प्रश्नको जवाफमा तत्कालीन कोषाध्यक्ष अधिकारीले भने, ‘अध्यक्षसहित केही कर्मचारीले चलाएको पैसा जो रेकर्डमा थियो आफ्नो कार्यकालमा त्यो जसरी पनि असुल उपर गर्छु भन्नेतर्फ लागे । मेरो ध्यान त्यता मात्र थियो । त्यो गरे पनि । अनि एकाउन्टेन्टले बिल भौचर तयार पार्ने र चेकमा अन्तिम सिग्नेचर मेरो हुने भएकाले अध्यक्ष वा महासचिवले पैसा खाए भनेर आरोप लगाउन मिल्दैन ।’

तर, केही घटनाक्रम शंकास्पद पाएकोले कही कतै बेइमानी भाको छ कि भन्ने आभाष चाहिँ भएको अधिकारीले बताए । त्यो पनि यथार्थ के हो छानबिन पछि समितिले बताउनेछ ।
अधिकारीले आफूले लिएको सपथ अनुसार पदमा रहँदा वा नरहँदा पनि संस्थालाई हानी हुने कुनै कुरा बोल्न नमिल्ने बताएका छन् ।

संगीत रोयल्टी संकलन समाजमा सुरेश अधिकारीले तीन कार्यकाल रहेर काम गरे । अहिलेका अध्यक्ष महेश खडका पनि निरन्तर रोयल्टीमा पदाधिकारी रहँदै आएका छन् । उनी महासचिव रहेकै बेला उनकी कान्छी श्रीमती मिनाक्षी कोइरालालाई आकर्षक तलवसहित प्रबन्धकमा नियुक्ति गरिएको थियो ।

उनी अहिले पनि सोही पदमा कार्यरत छिन । उनको नियुक्तिमा तत्कालीन कोषाध्यक्षको हैसियतले आफूले कुनै बिमति नराखेको बहुमतको निर्णले नियुक्ति दिइएको अधिकारीले जानकारी दिएका छन् ।

आफू श्रीमतीको उपचारका लागि दिल्ली गएका बेला कोइरालाको नियुक्ति भएकाले प्रकृयाबारे भने आफू अनभिज्ञ रहेको तत्कालीन कोषाध्यक्ष अधिकारीले बताए । कुनै समय एकाघरका दाजुभाई झै देखिने सुरेश, महेश र लोकराज पछिल्लो समय भने एकअर्काका आलोचक झै देखिएका छन् ।

समाजभित्र सधै पारदर्शीताको लागि आवाज उठाउँदै आएका निबर्तमान सदस्य लक्ष्मण शेषलाई साथ दिँदै कोषाध्यक्ष अधिकारीले पनि कोषको परिचालनमा कडाइँ गर्न थालेपछि उनी सुरेश र महेशको नजरमा असहयोगी र अप्रीय बन्न पुगेको उनीहरूलाई नजिकबाट नियालेका एक सर्जकले बताएका छन् ।