
बुटवल २७ फागुन । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले मुलुकको राष्ट्रियता अत्यन्तै जटिल मोडमा पुगेकोले सबै नेपाली सचेत हुनुपर्ने बताएका छन् ।
संविधानमा जबर्जस्त संघियता लाद्नु र स्वतन्त्र मधेसको वकालत गर्ने सिके राउतसँग सरकारले विवादास्पद सम्झौता गर्नुले मुलुकको राष्ट्रियता कमजोर भएको उनको भनाइ छ । अखिल छैठौं ५ नं. प्रदेशको दुई दिने प्रशिक्षण भेलाका सहभागीहरुलाई बुटवलमा प्रशिक्षण दिँदै उनले यस्तो बताएका हुन । ‘अमेरिकामा महिना मै लाखौं कमाइ गर्ने सिके राउत जागिर छोडेर त्यसै नेपाल आएका होइनन्’ उनले भने, ‘अन्र्तराष्ट्रिय साम्राज्यवादको आग्रहमा नेपाल आएर देश टुक्राउने उनको षड्यन्त्र हो । ’
तराईलाई अलग गरि आफ्नो देशमा गाभ्ने भारतको पहिले देखिको योजना भएको बताउँदै उनले सिके राउतले भारतको उक्साहटमा राष्ट्रियता बिरोधी कदम चालिरहेको बताए । स्वतन्त्र मधेसको नारा फैलाउनेसँग सरकारले गरेको सहमतिले धेरैलाई शसंकित बनाएको सिंहले बताए । उनले राष्ट्र टुक्राउने सबैखाले शक्तिसँग सम्झौताहिन संघर्ष गर्न विद्यार्थीहरुलाई आग्रह गरे ।
नयाँ नेतृत्व चयन गर्दै मंगलबार सम्पन्न हुने दोस्रो प्रदेश भेलाको उदघाटन शत्रमा अखिल छैठौंका केन्द्रीय महासचिव महेश जोशी, पूर्व महासचिव तथा राष्ट्रिय जनमोर्चाका नेता शुरेस थापा, केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुवँर,राष्ट्रिय जनमोर्चाका पूर्व महासचिव सन्तबहादुर नेपाली,अखिल नेपाल वुद्धिजिवि संघका केन्द्रीय सदस्य दुर्गानाथ खरेल, अन्टुक रुपन्देही अध्यक्ष नारायण जि.सी.,जातीय समता समाजका रुपन्देही अध्यक्ष दिलप्रसाद नेपाली,युवक संघ रुपन्देहीका कोषाध्यक्ष मिलन पोख्रेल र रक्तिम साँस्कृतिक अभियानका विष्णु केसीले शुभकामना मन्तव्य राखेका थिए । भेलामा प्रदेश ५ का १२ वटै जिल्लाबाट राजमोका नेता तथा विद्यार्थीहरु सहभागी बनेको प्रदेश अध्यक्ष गोपाल भट्टराईले जानकारी दिए ।












प्रतिक्रिया