काठमाडौं, २५ फागुन । सरकारले विभिन्न समूहसँग वार्ताका लागि गत ८ भदौमा सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा सरकारी टोली गठन गरेको थियो ।
टोलीले २५ भदौमा विभिन्न भूमिगत सशस्त्र समूहलाई वार्तामा आउन आह्वान गरेलगत्तै सिके राउतका दाजु जयकान्त राउत सरकारी वार्ता टोलीको सम्पर्कमा पुगेपछि वार्ताको पृष्ठभूमि बनेको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
‘उहाँको दाइ जयकान्त नास्टका वैज्ञानिक हुनुहुँदोरहेछ, आह्वानपछि हाम्रो सम्पर्कमा आउनुभएको थियो,’ सांसद पाण्डेले नयाँ पत्रिकासँग भने, ‘हामीले पृथक्तावादी सोच परित्याग गरेर राष्ट्र विखण्डन गर्ने माग फिर्ता नभएसम्म वार्ता हुन नसक्ने सन्देश दिएका थियौँ, उहाँले सिकेमाथि लगाइएको मुद्दा फिर्ता गरे वार्ता हुने बताउनुभएको थियो । पछि वार्ता टोलीको समयसीमा नै सकिएपछि उहाँ सरकारसँगको सम्पर्कमा पुग्नुभो र सहमतिको परिस्थिति बनेको हो ।’
सांसद पाण्डेले जयकान्तसँग ६ पटक अनौपचारिक तहको वार्ता गरेका थिए । वार्ता टोलीको समयसीमा सकिएपछि प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, गृहसचिव प्रेमकुमार राईलगायतले सीधै जयकान्तसहित राउत समूहको पदाधिकारीसँग छलफल थालेको थियो । राउत समूहबाटै प्रवक्ता चन्दननाथ सिंह सहजकर्ताका रूपमा खटिएका थिए । करिब डेढ महिनायता प्रधानमन्त्रीसँग सरकारीनिवास बालुवाटारमा सिकेका दाजु जयकान्त र चन्दननाथले ३ पटकसम्म कुरा गरेपछि सर्वोच्च अदालतबाट उनी छुट्ने वातावरण बनेको हो ।
दाजु जयकान्तले नै मूलधारको राजनीतिमा नआउँदा लामो समय जेलमै बस्नुपर्ने र छुटेपछि पनि सरकारले कडा कदम चाल्न सक्ने सन्देश सिकेलाई दिएका थिए । बिहीबार अदालतबाट छुटेपछि सिकेले प्रधानमन्त्री ओलीसँग ‘वान टु वान’ छलफलसमेत गरेको जयकान्तले बताए । बालुवाटारमा भएको वार्तामा नेकपाका नेताहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, सुवास नेम्वाङ, योगेश भट्टराई, विष्णु रिमाललगायत सहभागी थिए । सरकारको तर्फबाट सहमतिको मस्यौदा बनाउने काममा गृहसचिव प्रेमकुमार राई पनि जोडिएका थिए ।
‘लामो समयदेखि पृथक्तावादी आन्दोलनमा संलग्न समूह देशको सार्वभौमसत्ता, अखण्डता र अविभाज्यका साथै संविधानलाई स्वीकार गरेर शान्तिपूर्ण मूलधारको राजनीतिमा आउनु ठूलो महत्वपूर्ण ऐतिहासिक घटनाक्रम हो, यो सिंगै देश र नेपाली जनताको सफलता हो,’ वार्तामा सहभागी नेकपाका महासचिव पौडेलले भने ।















प्रतिक्रिया