४ कार्तिक २०८३, बुधबार

केपी र पीकेको अघि उभिएर सीकेले के भने ?

6.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-राकुमार शाही/दैनिक नेपाल

काठमाडौँ, २४ फागुन । राष्ट्रिय सभागृहको हल । मञ्चमा प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी), नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड (पीके) र स्वतन्त्र मधेस गठबन्धनका अध्यक्ष चन्द्रकान्त राउत (सीके) ।

पृथकतावादी आन्दोलन गरिरहेका राउतले शुक्रबार सरकारसँग ११ बुँदे सहमति गर्दै सीके राउतले गठबन्धन अन्त्यको घोषणा गर्ने कार्यक्रम थियो । केपी र पीकेको अघि उभिएर सीकेले स्वतन्त्र मधेस गठबन्धन अन्त्यको घोषणा मात्र गरेनन्, आजको दिन ऐतिहासिक समेत रहेको बताए । उनले यो सहमतिले सरकार र जनता सबैको जित भएको दाबी पनि गरे ।

राउतले आफू हिंसाको पक्षधर नभएको स्पष्ट पारेका छन् । ‘हामी बुद्धका सन्तान हौं, अहिंसा हाम्रो रगरगमा बसेको छ’, कार्यक्रमलाई सम्बोधन गर्दै राउतले भने । उनले आजसम्म पनि आफूहरू अहिंसात्मक आन्दोलन गरेको र त्यो आन्दोलन समुदायविरूद्ध नभएको बताए ।
उनले सहमति गर्न प्रधानमन्त्री ओलीले पहल गरेको भन्दै धन्यवाद समेत दिएका छन् ।

‘राज्यबाट दमन भएपनि हामीले त्यसको प्रतिउत्तरमा केही गरेनौँ । हिंसात्मक हुन सक्थ्यौँ तर, हिंसामा हामीले विश्वास गरेनौँ’, उनले भने, ‘यो सहमति गर्न प्रधानमन्त्री ओलीले आफै पहल गर्नुभयो र सुरक्षित अवतरण भयो । धन्यवाद प्रधानमन्त्रीज्यू !’

राउतले राज्यसँग केही असहमति भएका कारणले आफूहरु आन्दोलनमा रहेको बताए । उनले आफूहरुको आन्दोलनको सुखद अवतरण भएको र आगामी दिनमा पनि नेपाली जनताको सार्वभौमसत्ता सम्पन्नताको रक्षा गर्दै अघि बढ्ने बताए ।

‘आजको दिन ऐतिहासिक छ । हामीले विगत केही बर्षदेखि देशमा विकाराल समस्याका रुपमा जुन मुद्दा उठेको थियो जसमा राज्यपक्ष र हामी पनि चिन्तित थियौँ’, राउतले भने, ‘जिम्मेवार नागरिकलाई चिन्तित बनाएको थियो, त्यसले कस्तो भयाभह रुप लेला भनेर । तर, आज बडो सुरक्षित र शान्तिपूर्ण रुपमा अवतरण हुँदैछ । यो सबै जनताका लागि खुसीको कुरा हो ।’

हिंसात्मक आन्दोलन गर्न सजिलो भए पनि सहज गाह्रो हुने भन्दै त्यस्ता गतिविधिमा नलाग्न अन्य पक्षलाई आह्वानसमेत गरे ।

‘हामीले हिंसात्मक आन्दोलन गरेर समय खेर फाल्ने बेला होइन । जनताले चाहेपनि जे पनि हासिल गर्न सक्छ । वार्तामार्फत राज्यले प्रतिबद्धता पनि जनाएको छ’, राउतले भने, ‘सबै शक्ति जनताको हातमा निहित रहेको छ । जस्तो व्यवस्था ल्याउन छ, त्यसका लागि अभिमत प्रयोग गरुन् । समग्र देशको विकास हासिल गर्ने बेला आएको छ ।’

उनले आफू पाँच महिनादेखि जेलमा रहेको र जेल जीवनबाट आफूले धेरै कुरा सिकेको बताए ।