
काठमाडौं, २४ फागुन । तराई मधेसमा बिखण्डनकारी विचारको जड गाडेका सिके राउतले नेपालको अखण्डता स्वीकार्ने सहमति गरेपछि उनी सरकारसँग नजिक हुँदैछन् ।
नेपाल कम्युनिस्ट पार्टीको बलियो सरकारसँग संगत गर्दै अखण्ड नेपालका निम्ति अघि बढ्ने उनको सहमतिलाई नेकपाले सकारात्मक लिएका कारण पार्टी प्रवेशसम्मका हल्ला चलेका छन् ।
तत्कालै पार्टी प्रवेश गर्ने या नगर्ने विषयमा चोटिलो निर्णय बाहिर नआए पनि राउतलाई मूलधारको राजनीतिमा उभ्याउन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली सक्षम भएका छन् । एक अर्थमा राउतको उग्र र विखण्डनकारी सोचलाई बदली नम्र बनाउन ओली सफल भए ।
राउत कसरी सक्रिय भएका थिए ?
झण्डै एक दशकको दौरानमा राउतले मधेसमा नयाँ विचार स्थापित गराउने कोशिश गरेका थिए । उनको कोशिश तराई मधेस नेपालभन्दा भिन्न देश बन्नुपर्छ भन्ने थियो । र, यो अभियानमा उनी सक्रिय थिए । कतिपयले भारतले प्रयोग गरेका व्यक्ति भनिए पनि उनको पृष्ठभूमी अमेरिकामा अध्ययन गरेको बताइन्थ्यो ।
उनका छिटपुट कार्यक्रम भने चले पनि खासै चर्चामा थिएनन् । तर, ५ बर्षअघि तत्कालिन एमालेसहितको सरकार रहँदा गृहमन्त्री बामदेव गौतमले उनलाई पक्राउ गर्न लगाए पछि आन्दोलनमा रहेको मधेसमा उनको चर्चा चुलियो । र, त्यो अभियानका रूपमा प्रभावकारी बन्न थालेको थियो ।
मधेश अभियानका क्रममा मोरङको साविकको रंगेली सोरामांगसिंह गाविस–३ मा कार्यकर्ता प्रशिक्षण गरेर फर्किने क्रममा सादा पोशाकका प्रहरीले शनिबार राति साढे ८ बजे उनलाई नियन्त्रणमा लिएको थियो । राष्ट्रिय अखण्डताविरोधी गतिविधिमा संलग्न रहेको प्रमाणका आधारमा राउतलाई पक्राउ गरिएको थियो ।
देश टुक्राउनुपर्छ भन्ने प्रशिक्षण अगाडि बढाएकाले गृह मन्त्रालयले उनको गतिविधि निगरानीमा राखेको थियो । पछिल्लो समय उनले कार्यकर्ता प्रशिक्षणमा सशस्त्र विद्रोहको एजेन्डालाई प्राथमिकता दिँदै सोही अनुसारको प्रशिक्षण दिन थालेको दाबी गृह मन्त्रालयले गरेको थियो ।
राउतलाई पछिल्लो पटक भने रौतहटमा पक्राउ गरिएको थियो । जनकपुर, वीरगञ्जलगायतका क्षेत्रमा आफ्नो अभियानलाई सकेर फर्किने क्रममा उनलाई पक्राउ गरिएको थियो ।
सर्वोच्च अदालतको विहीबारको आदेशले उनी रिहा भएका थिए । भारतीय मिडिया र नेपालका केही टेलिभिजनमा उनले देश विखण्डनका विषयमा कडा अन्तरवार्ता दिएका थिए ।
राउतको विगत
सप्तरीको महदेवा गाउँमा जन्मेका राउत अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत रहँदा रहँदै सन् २०११ को अन्त्यतिर राजीनामा दिई नेपाल फर्किएका हुन् । युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडल, ट्रफिमेन्कफ एकाडेमिक एचिभमेन्ट अवार्ड जस्ता सम्मानबाट उनी विभूषित भएका थिए ।
पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेर एउटा इन्जिनियरिङ क्याम्पसमा केही समय विभागीय प्रमुखका रुपमा काम गरेका उनी आफूलाई सोध्दै नसोधी सहायक विभागीय प्रमुख बनाएपछि राजीनामा दिएर हिँडे ।
जापानबाट फर्किएपछि सन् २००४ को अगस्तमा गेरू वस्त्र लिएर घरबाट निस्केका राउतसित कहाँ जाने कुनै योजना थिएन । भगवान खोज्ने भन्दै भारतका कलकत्ता, मद्रास, कन्याकुमारी, मधुराइ, बेंगलोर र रामेश्वरम्सम्म उनी पुगेका थिए ।
सन् २००६ को अगस्तमा घर फर्कँदा मधेस आन्दोलन सुरु भएको थियो ।
विवश्वान कुमार, आजाद र ईंजोड आदि छद्मनामबाट उनले लेखहरु लेख्न थाले । कम्प्युटर इन्जिनियरिङ पढेका र ह्याकिङ जानेका उनले स्पाइडर प्रोग्रामै तयार पारी नेपालसँग सम्बन्धित वेबसाइटहरूबाट लक्षित समूहका लाखौं इमेल संकलन गर्दै नियमित रूपमा आन्दोलनको अद्यावधिक वस्तुस्थिति र लेखहरू पठाउँथे ।
यसरी भयो नेकपासँग सहमति
प्रधानमन्त्री ओलीलाई मधेसको राजनीति गरेका राजपा र संघीय समाजवादी पार्टीको विश्वासको मत परेपछि सिकेको अभियानमा भावनात्मक चोट पुगेको थियो ।
मधेसका खास पार्टी सरकारसँग रहेपछि उनलाई पक्राउ गरि बाहिर निस्कनै नदिने नियत राज्यले लिनसक्ने भएपछि मुलुकको हितकै पक्षमा राजनीति गर्ने उनले सोच बनाए ।
सत्तामा सहयोगी रहेको संघीय समाजवादी पार्टीका केही नेता र नेकपामा रहेका कतिपयको सहजीकरणका कारण राउत सरकारसँग लचकताका साथ अभियान रोक्न सहमत भएको बताइन्छ ।
सरकार सहमतिमा आउनुको कारण
नेपाली सेनाको एउटा गोप्य अध्ययनले मधेसमा राउतको प्रभाव बढिरहेका कारण नियन्त्रण गर्न अथवा त्यसलाई रोक्न सरकारलाई सुझाव दिएको थियो ।
यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरीको अध्ययनले पनि राउतको विखण्डनकारी अभियान सक्रिय भए मुलुकमा ठूलो जातीय र क्षेत्रीय हिंसासम्म हुनसक्ने आँकलनसहितको सुझाव सरकारलाई बुझाएको थियो ।
त्यसको न्युनिकरण र निराकरण नै गर्ने भनी गृह मन्त्रालयले एकातिर कारबाही र अर्कातिर वार्ताका लागि समिति सक्रिय बनाएको थियो । तर काठमाडौंमा हिरासतमा रहेका राउत भने सरकारसँग सहमति गर्नका लागि पटक–पटकको वार्तापछि राजी भएपछि शुक्रबारसम्मको अवस्थामा पुगेको बताइन्छ ।















प्रतिक्रिया