राजविराज, २६ माघ । सप्तरीमा सङ्गठित रुपमा प्रतिबन्धित लागुऔषध गाँजाको तस्करी बढ्दै गएको छ ।
नेपाली बजारभन्दा भारतीय बजारमा लागुऔषध गाँजाको मूल्य दुई–तीन गुणा बढी पाउने भएकाले यसको तस्करी सङ्गठित रुपमै बढेको हो ।
सप्तरीमा गाँजाखेती नभए पनि पहाडी जिल्लामा उत्पादन भएको गाँजाको बिक्री भारतीय बजारमा गर्ने उद्देश्यले सप्तरीमा सङ्कलन गरी राख्ने काम भने बढेको छ ।
सप्तरीबाट गाँजा बरामद हुने क्रम बढेपछि यहाँस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीले निगरानी बढाएको छ ।
पछिल्लो पाँच महिनायता सप्तरीको विभिन्न गाविसमा फाटफुट रुपमा आँगन तथा करेसाबारीमा लगाइएको र आफैं उम्रेका झन्डै ८७ हजार गाँजाको बोट फँडानी गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्क छ ।
प्रहरीले निगरानी बढाए पनि बिक्री गर्न तयारी अवस्थामा गाँजाको पोका बरामद हुने क्रम भने रोकिएको छैन ।
पछिल्लो दुई महिनामा सशस्त्र र नेपाल प्रहरीले विभिन्न ठाउँबाट ६०० क्विन्टलभन्दा बढी गाँजा बरामद गरेको छ ।
बरामद भएका गाँजाका पोकामा डोको जस्तै टाउकामा बोक्ने डोरी लगाइएकाले पहाडी जिल्लाबाट उत्पादन गरी ल्याइएको गाँजा भएको सशस्त्र प्रहरी राजविराजका प्रहरी उपरीक्षक हृदयनारायण मण्डलको आशङ्का छ ।
गत बुधबार बिहान मात्रै सशस्त्र प्रहरीले सप्तरीको अर्नाहा गाविस–१ स्थित एक गोठमा तयारी अवस्थामा पोका बनाइराखेको १८५ किलो गाँजा बरामद ग-यो ।
अर्नाहाबाट गाँजा बरामद भएको ठीक एक साताअघि गत माघ १४ गते सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा शम्भुनाथ नगरपालिका–११ रामपुर जमुवास्थित परालको टालमा (कुन्यूँ) १० वटा बोरामा लुकाएर राखिएको अवस्थाबाट १७५ किलो गाँजा बरामद ग-यो ।
उक्त क्रममा प्रहरीले स्थानीय गुल्टेन मण्डललाई उनको गाँजा भएको आरोपमा पक्राउसमेत गरी उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार ढकालले बताउनुभयो ।















प्रतिक्रिया