४ कार्तिक २०८३, बुधबार

प्रदिप गिरीले मणिकर्णिका सम्झिए, ‘प्याड कपल’ले के–के गरे ?

5.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । प्रतिनिधि सभाको एउटा बैठक र धनुषाको विद्यालयमा आयंका फाउन्डेशनको कामको तालमेल मिलेका कारण समाचारको शीर्षकको संयोजन गरिएको हो ।

बुधबारको संसद बैठकमा नेपाली कांग्रेसका नेता प्रदिप गिरीले छाउपडी प्रथाविरुद्धको प्रस्तावमा समर्थन गर्दै झाँसीकी रानी अर्थात् मणिकर्णिकाको कथा सुनाए ।

ति साहसी महिलाले युद्धका क्रममा आफू महिनावारी भएको थाहा पाएपछि तीन दिन लुकेको तथ्य सुनाउँदै उनले सांसदलाई भर्खरै बलिउड अभिनेत्री कंगना रनावत अभिनित तथा निर्देशित फिल्म मणिकर्णिका हेर्न सुझाव पनि दिए । तर, फिल्ममा केही तथ्यहरू तोडमोड भएको उनले उल्लेख गरेका थिए ।

छाउपडी प्रथा पश्चिम नेपालको समस्याका रूपमा ज्यूँका त्यूँ छ भने असुरक्षित महिनावारीको समस्या मुलुकका विभिन्न ठाउँमा कायम छन् । यसविरुद्धको अभियानमा राज्य र कलाकार पनि फरक ढंगबाट लागि परेका छन् ।

यही क्रममा अभिनेता आयुष्मान देशराज जोशी र उनकी हुनेवाला पत्नी प्रियंका कार्कीको फाउन्डेशन ‘आयंका’मार्फत धनुषाका स्कुलमा प्याड वितरण गर्दै प्रयोगको तरिका सिकाइएको थियो ।

धनुषाको जनता मावि, हरिपुर निगाहपुर मावि र आधारभूत माविमा ५० थान पुनः प्रयोग गर्न मिल्ने प्याड पनि वितरण गरेका थिए । एउटा झोलामा चार थान प्याड, दुई थान अन्डरवेयर, साबुनलगायतका सामग्री वितरण गरियो ।

अभिनेता आयुष्मान देशराज जोशीले महिनावारी लाज र महिलाको मात्र विषय नभएको बताउँछन् । महिनावारी भएको समयमा महिलाको पीडा कम गर्न पुरुषले पनि सहयोग गर्नु पर्नेमा जोड उनको जोड थियो । न महिनावारी, न महिना पारी, म हुँ महिनाभरी त अभियानको नारा नै हो ।

महिनावारी स्वच्छताका जोडी दूत

आजभोली यो जोडीको फिल्ममा माग घट्दै जाँदा सामाजिक काममा सक्रियता देखाउन थालेका छन् । त्यसैकारण केही समयअघि खानेपानी मन्त्रालयले महिनावारी स्वच्छता दूत नियुक्त गरेको थियो ।

मन्त्रालय र आयंका फाउन्डेसनका तर्फबाट प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठबीच भएको सहमतिअनुसार उनीहरूलाई एक वर्षका लागि स्वच्छता दूत नियुक्त गरिएको थियो ।

खानेपानी मन्त्री बिना मगरले दूत नियुक्त गरिएको पत्र दुवै जनालाई हस्तान्तरण गरेकी थिइन् । महिनावारीका सम्बन्धमा आम मानिसमा रहेको नकारात्मक धारणालाई बदल्न मन्त्रालय र फाउन्डेशनले यो अभियान सुरु गरेको थियो ।

मन्त्री मगरले महिलाहरूले महिनावारी हुँदा भोग्नुपरेका समस्याका विषयमा जनचेतना जागृत गराउन कलाकारहरूको भूमिका अति महत्वपूर्ण हुने बताएकी थइन् ।

कलाकार प्रियंका र आयुष्मानको जोडीले महिलाहरूलाई महिनावारी सम्बन्धी जनचेतना जगाउन ठाउँ–ठाउँमा खटेर आफैं लागि पर्ने प्रतिबद्धता जनाएका थिए । सोहीअनुसार उनीहरू अभियानमा सक्रिय छन् ।