४ कार्तिक २०८३, बुधबार

पर्वतको लप्सी अमेरिका निर्यात

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत, २२ फागुन । लप्सी उत्पादनको पकेटक्षेत्र मानिएको यहाँबाट यस वर्ष अमेरिकामा मात्रै १० टन लप्सी निर्यात भएको छ ।

लप्सी सङ्कलन, प्रशोधन र व्यापारको काम गर्दै आएको सामुदायिक खाद्य प्रशोधन उद्योगले प्रशोधन गरेर तयारी अवस्थामा रहेको १० टन लप्सी अमेरिका पठाएको हो । फलेवास नगरपालिकाको मुडिकुवामा रहेको उद्योगले जिल्लाका विभिन्न ठाउँमा पुगेर कृषकको लप्सी खरीद गरेर प्रशोधन गर्दै आएको छ ।

उद्योगबाट उत्पादित माडा, अचार, क्याण्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो क्याण्डी लगायतका परिकार निर्यात गरिएको उद्योगका सञ्चालक थानेश्वर भुसालले जानकारी दिनुभयो । यस वर्ष उद्योगले कूल १३० टन लप्सी सङ्कलन गरेकामा अहिलेसम्म ६० टन लप्सी प्रशोधनपछि बजारमा गएको छ भने ७० टन लप्सी प्रशोधनको क्रममा छ । गत वर्षको यही समयसम्म ४० टन मात्र लप्सी प्रशोधन गरेको उद्योगले अघिल्लो वर्षको तुलनामा २० टन बढी प्रशोधन गरिसकेको छ ।

उद्योगले पर्वत र बागलुङबाट लप्सी सङ्कलन गरेर प्रशोधनपछि देशका विभिन्न जिल्लासहित विदेशमा पनि निर्यात गर्दै आएको छ । “अहिलेसम्म प्रशोधन गरिएको लप्सी स्थानीय बजार र अमेरिका पुगिसकेको छ”, भुसालले भन्नुभयो, “कोरियाबाट पनि माग आएको छ, अब प्रशोधन गरिएको कोरिया पठाउछौँ ।”

उहाँका अनुसार यो वर्ष प्रशोधित लप्सीको बिक्रीबाट रु २० लाखभन्दा बढी कमाइ हुने अपेक्षा गरिएको छ । विसं २०५८ मा स्थापना भएको उद्योगमा बर्सेनि नाफा बढ्दै गएको छ । उद्योग स्थापनापछि बसाइँसराइ र अन्य कारणले पनि बाँझो रहेका जिल्लाका पाखाबारी तथा खाली जमीनमा लप्सी लगाउने होड चलिरहेको छ । केही वर्षअघिसम्म बोटबाटै झरेर कुहिने गरेको लप्सीले आजभोलि मूल्य पाउन थालेपछि कृषकलाई उत्साहित बनाएको छ । – रासस