महेन्द्रनगर, २५ माघ । महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउन कञ्चनपुरमा सिलाइकटाई तालिम दिइएको छ ।
ट्रेड युनियन कांग्रेस सम्बद्ध नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन)ले महिलालाई आत्मनिर्भर बनाउन कञ्चनपुरको बेलौरी नगरपालिकामा ६ महिने सिलाइकटाई तालिम दिएको हो । काउनले बेलौरीका २५ महिलालाई सिलाइकटाई सीप प्रदान गरेको हो । साउन महिनादेखि तालिम दिन सुरु गरेको थियो ।
नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) महिला विभागका केन्द्रीय उपाध्यक्ष निलम लेखक जोशीले महिलाहरुलाई नेतृत्व तहमा ल्याउन तथा जिवनयापन सहज बनाउन सीपमुलक तालिम प्रदान गरिएको जानकारी दिनुभयो ।
‘महिलालाई सीप सिकाएर आफै कमाएर खान सक्ने बनाउनु हाम्रो उद्देश्य हो,’ उहाँले भन्नुभयो । उहाँका अनुसार ६ महिने तालिम लिएका महिलाले व्यवसाय पनि सुरु गरेका छन् । आर्थिक अवस्था कमजोर भएका महिलाहरुले सीप सिकेपछि आम्दानी गर्न सजिलो भएको बताएका छन् ।
यसैबीच ६ महिने सिलाइकटाई तालिमको आइतबार बेलौरी नगरपालिकामा समापन गरिएको छ । सुरेन्द्र विष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा संविधानसभाका सदस्य दिवानसिंह विष्टको प्रमुख अतिथि रहनुभएको थियो ।
काउनका क्षेत्रीय सभापति रामप्रसाद भट्ट विशिष्ठ अतिथि हुनुहुन्थ्यो । बेलौरी नगरपालिकाका इन्जिनीयर हृदयराज बजंगाई अतिथी रहेका थिए । काउनका सचिव सुरेन्द्र विष्टले सहजिकरण गरेको कार्यक्रममा नगर संयोजक विरवहादुर सुनारले स्वागत मन्तव्य राखेका थिए ।
प्रशिक्षक अञ्जली रानाले तालिममा प्रशिक्षण दिनुभएको थियो । पछिल्लो समय कञ्चनपुरमा महिलाहरुलाई काउनले विभिन्न सीपमुलक तालिमहरु दिएर उनीहरुलाई व्यवसाय सञ्चालनमा समेत सहयोग गर्दै आएको छ ।
काउन महिला विभागका केन्द्रीय उपाध्यक्ष लेखक जोशीले सीपमुलक तालिम दिएर आवश्यक औजार, मेसिनहरु पनि सहयोग गर्दै आएको जानकारी दिनुभयो ।
















प्रतिक्रिया