सिराहा, २५ माघ । हिन्दुवादी संगठनहरुले नेपाललाई हिन्दुराष्ट्र घोषणा नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
सिराहको लहानमा माघ २३ देखि २४ गतेसम्म अयोजना गरिएको राष्ट्रिय सन्तसम्मेलन तथा हिन्दुसभामा नेपाललाई हिन्दुराष्ट्र घोषणा नगरिए आन्दोलन गर्ने निर्णय गरेका हुन् ।
राष्ट्रिय सन्तसम्मेलन तथा हिन्दुसभाका आयोजक वैदिक सनातन हिन्दुराष्ट्र नेपाल संस्थागत संयुक्त संघर्ष समिति, विश्व हिन्दु परिषद्ले संयुक्त संघर्ष थाल्ने चेतावनी दिएका हुन् ।
सम्मेलनमा संयुक्त सनातन मोर्चा, सनातन हिन्दुराष्ट्र नेपाल नागरिक संघर्ष समिति, वैदिक सनातन हिन्दु परिषद्, राष्ट्रिय धर्मसभा नेपालले हिन्दुराष्ट्र घोषणा नगरिए आन्दोलन गर्ने निर्णय गरेको सम्मेलनका संयोजक सुशिलचन्द्र अधिकारीले जानकारी दिनुभयो ।
अहिले नै आन्दोलनका कार्यक्रम सार्वजनिक भने गरिएको छैन् । सरकारलाई हिन्दु राष्ट्रका लागि पहल गर्न आग्रह समेत गरिएको छ ।
हिन्दु राष्ट्रको माग गर्दै अनशन बस्दै आएका श्रीनिवास आचार्य, सनातन हिन्दूराष्ट्र नेपाल नागरिक संघर्ष समितिका संयोजक हरिबोल भट्टराई, डा. मिठाराम विश्वकर्मा, दीपक सुवेदी, चैतन्यकृष्ण, देवी घिमिरे लगायतले सम्मेलनलाई सम्बोधन गर्दै हिन्दुराष्ट्रको माग गर्नुभएको थियो ।
मानमहन्त जगन्नाथदास जी महाराजको प्रमुख आतिथ्यता र मनोहरमठ सिराहका महन्त लक्ष्मणदास जीको अध्यक्षतामा सन्तसम्मेलन एवम् वैदिक सनातन हिन्दूराष्ट्र नेपाल संस्थागत संयुक्त संघर्ष समितिका संयोजक श्री सुशिलचन्द्र अधिकारीको अध्यक्षतामा भएको हिन्दुसभाले सर्वसाधारणलाई हिन्दुराष्ट्रका लागि आवाज उठाउन आग्रह गरेको थियो ।
संविधानमा नेपाललाई हिन्दू राष्ट्रकै रूपमा सम्बोधन गनुपर्ने पक्षमा उभिएका राजनीतिक पार्टी, पार्टीले निर्णय गर्न नसकेको भएपनि हिन्दूराष्ट्र हुनुपर्छ भनेर पार्टीभित्र विद्रोह गरिरहेका पार्टीका नेता कार्यकर्ता, धार्मिक संघसंस्था, सामाजिक संघसंस्थाहरु यो अभियानमा लागेको संयोजक अधिकारीले बताउनुभयो ।
नेपालको पहिचान हिन्दुत्व मेटिन लागेकाले त्यसलाई जोगाउन सबै नेपाली एकजुट हुनुपर्ने सन्देश सम्मेलनले दिन खोजेको थियो ।
















प्रतिक्रिया