८ कार्तिक २०८३, आइतबार

आर्थिक सहायता र विदेश भ्रमणमा २ अर्ब खर्च

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्षमै आर्थिक सहायताका नाममा राज्यको ढुकुटीबाट पौने २ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ। नागरिक दैनिकले समाचार छापेको छ ।

२०७४ फागुन ३ गते सरकारको नेतृत्वमा आएपछि ओलीले विकास, सुशासन र आर्थिक मितव्ययितालाई मूलमन्त्रको रुपमा प्रचार गरेका थिए। ओली सरकारले एक वर्षको अवधिमा आर्थिक सहायता र सहिद घोषणा नाममा १ अर्ब ८० करोड ९३ लाख रुपैयाँभन्दा बढी राज्यको ढुकुटीबाट बाँडेको हो। त्यस्तै विदेश भ्रमणमा करिब २३ करोड रुपैयाँ खर्च भएको छ।

सहायता माग्दै दर्ता भएका ३ हजारभन्दा बढी निवेदन अझै विचाराधीन रहेको गृह मन्त्रालयका अधिकारीले बताएका छन्।

द्वन्द्वपीडित, विपन्न, स्वास्थ्य उपचार र जीविकोपार्जन समस्या देखाउँदै सहायता माग्ने गरेको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले मन्त्रिपरिषद्को निर्णयअनुसार अर्थ मन्त्रालयले रकम निकासा गरेपछि आर्थिक सहायता वितरण गरिएको बताए।

‘मन्त्रिपरिषद्ले निर्णय गरेबमोजिम नै आर्थिक सहायता वितरण हुनेगरेको छ,’ सुवेदीले भने। गत असोजमा भने सरकारले आर्थिक सहयोगका नाममा रकम नबाँडेको अर्थ मन्त्रालयको विवरणमा उल्लेख छ।

हरेक बिहीबार सरकारले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै आए पनि सहायता बाँडेको निर्णय भने गुपचुप राखेको छ। प्रत्येक महिनाजसो मन्त्रिपरिषद्बाट निर्णय गरेर विदेश भ्रमण र सहायताका नाममा राज्यको ढुकुटी दोहन गरिँदै आएको हो।

प्रधानमन्त्री ओलीको संयुक्त राष्ट्रसंघ, भारत र चीनको राजकीय भ्रमणसहित राष्ट्रपति, मन्त्री, सांसद, दलनिकटका कार्यकर्तालगायतको विदेश भ्रमण र विदेशी पाहुना स्वागतका नाममा करिब २३ करोड रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयको तथ्यांकमा उल्लेख छ।