
काठमाडौँ, १९ फागुन । पूर्वअर्थमन्त्री एवम् नेकपाका नेता भरतमोहन अधिकारीलाई उनका तीन छोरीहरूले दागबत्ती दिएका छन् । अधिकारीको पार्थिव शरीरलाई छोरीहरू लुना, लिमा र लिजाले काँधी–काठ गर्दै दागबत्तीसमेत दिएका हुन् ।
शनिवार राजधानीको ह्याम्स अस्पतालमा निधन भएका ८२ वर्षीय अधिकारीको राजकीय सम्मानका साथ आइतबार दिउँसो पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो । आर्यघाटमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले राष्ट्रिय झण्डा ओढाएका थिए ।

नेता अधिकारीको पार्थिव शरीरलाई अन्त्येष्टिअघि नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा अन्तिम श्रद्धाञ्जली दिइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएर नेता अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा अर्थमन्त्री बनेका अधिकारी वृद्धभत्ता र आफ्नो गाउँ आफैं बनाऔं जस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए ।
लामो समय श्वासप्रश्वाससम्बन्धी रोगका कारण उपचाररत अधिकारीलाई अस्पतालले शनिवार मृत घोषित गरेको थियो ।















प्रतिक्रिया