काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा देउवा र पौडेलसँगै सभापति भिडेका कृष्णप्रसाद सिटौला आफूले जितेनन् ।
तर, जितहारमा निर्णायक भूमिका खेले । सभापतिमा सिटौला प्रतिस्पर्धामा उठेकै कारण पहिलो चरणमा कसैले पनि बहुमत हासिल गरेनन् । देउवालाई ११ भोट पुगेन । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
देउवाले १५६४, पौडेलले ११६० मत ल्याउँदा सिटौलाले भने ३२४ मत पाएका थिए । कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नकटाएपछि सिटौला प्रतिस्पर्धाबाट बाहिरिए । तर, देउवा र पौडेलबीचको प्रतिस्पर्धामा उनी नै निर्णायक बन्न पुगे ।
तत्कालीन संस्थापन पक्षसँग चिढिएको सिटौला पक्षले दोस्रो चरणमा देउवालाई भोट दिएपछि देउवाले सभापति जितेका थिए ।
दोस्रो चरणमा देउवा १८२२ मत ल्याएर विजयी हुँदा ५२६ मतले पछि पर्दै पौडेलले १२९६ मत मात्र प्राप्त गरे । पहिलो चरणभन्दा पौडेलले १३६ मत बढी ल्याए । देउवाले बाँकी भोट सिटौला पक्षबाटै तानेका थिए । महाधिवेशनको नतिजाले सिटौला पक्षको धेरै भोट देउवालाई गएको देखाउँछ ।
महाधिवेशनअघि कोइरालाहरू निकट भए पनि आफूलाई बेवास्ता गरिएपछि सिटौलाले आफूलाई तेस्रो धारमा उभ्याउने प्रयास गरेका थिए ।
पौडेल र कोइराला परिवारको बेवास्ताको बदलामा सिटौलाले सभापतिमा उम्मेदवारी मात्र दिएनन्, महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीलाई उम्मेदवार बनाए ।















प्रतिक्रिया