काठमाडौं, १८ फागुन । सन् १९०३ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले बनाएको सिंहदरबार राणा शासनको पतनपछि पनि प्रजातन्त्र र गणतन्त्रमा समेत प्रधानमन्त्री कार्यालय तथा प्रमुख प्रशासनिक केन्द्रकै रूपमा छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
तर, पहिलेको सुन्दर सिंहदरबार अहिले अस्तव्यस्त छ । जथाभावी फोहोर, पुराना गाडीको अव्यवस्थित पार्किङ र सरसफाइको कमीले सिंहदरबारको सौन्दर्य हराएको छ । पुरानो प्रधानमन्त्री कार्यालय र संसद् ग्यालरी बैठक पनि ०७२ वैशाखको भूकम्पमा भत्किएर जोगिने–नजोगिने अवस्थामा छ । तर, पछिल्लो समय सरकार सिंहदरबारको स्वरूप फेर्ने कसरतमा लागेको छ । केही सकारात्मक प्रयास सुरु गरेको छ ।
सिंहदरबार परिक्रमा गर्दा कहिलेकाहीँ पुराना सवारीसाधन थन्क्याउने ग्यारेजजस्तो लाग्छ । मन्त्रालयपरिसरमा वर्षौँदेखि गाडी र मोटरसाइकल खिया लागेर बसेका छन् । कतिपय प्रयोग गर्न मिल्ने गाडी पनि बेवारिसे छाडिएको समाचार पटक–पटक आए । तर, अब सरकार व्यवस्थापनतर्फ लागेको छ ।
३१ भदौमा मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा बसेको बैठकले सिंहदरबारपरिसर व्यवस्थापन सन्दर्भमा २६बुँदे निर्देशन दिएको थियो । त्यसपछि रेग्मीकै नेतृत्वमा बसेको बैठकले सिंहदरबारभित्र रहेका पुराना सवारीसाधनको आवश्यकताअनुसार मर्मतसम्भार गरेर चलाउन र स्थानीय तहलाई हस्तान्तरण गर्न भनेको थियो । निर्देशनअनुसार अहिले ७० पुराना गाडी मर्मतसम्भारबाट चलाउने गरी प्रदेश र स्थानीय तहसहित विभिन्न सरकारी निकायलाई हस्तान्तरण भइरहेको छ । बाँकी लिलामी प्रक्रियामा छ ।
प्रयोग गर्न मिल्ने स्कार्पियो, टोयटा कार, प्राडो, जिपलगायतका गाडी प्रधानमन्त्री कार्यालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय तथा गृह मन्त्रालयमार्फत धमाधम हस्तान्तरण भइरहेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले बताए । प्रधानमन्त्री कार्यालयले मात्रै ८ महिनायता ५५ वटा गाडी विभिन्न सरकारी निकायलाई हस्तान्तरण गरेको छ ।
रक्षा मन्त्रालयका लागि बनिरहेको १०५ कोठे भव्य भवन ‘फिनिसिङ’को चरणमा छ । १९ करोड ३३ लाख लागतमा डाँफे समानान्तर जेभी कन्स्ट्रक्सनले सम्झौता गरिएभन्दा आधा समयअघि नै संरचना तयार गरेको हो । तीन वर्षमा भवन निर्माण सक्ने गरी गत ३ असारमा डाँफेसँग सम्झौता भएको थियो । आगामी ६ महिनाभित्र भवनमा मन्त्रालय बस्न सक्ने संघीय सचिवालयका सिनियर डिभिजन इन्जिनियर अमरबहादुर थापाले बताए ।
रक्षा मन्त्रालयको नयाँ भवननजिकैको खाली जग्गामा महिला बालबालिका मन्त्रालय र श्रम मन्त्रालयका लागि पनि भवन बनाउने तयारी छ । सिंहदरबार पुनर्निर्माण गुरुयोजनाअन्तर्गत यी भवन निर्माण गर्ने सरकारको योजना छ ।
परराष्ट्र मन्त्रालयपछाडिको झाडी फाँडेर मैदान बनाउने काम भइरहेको छ । गृह मन्त्रालयको पश्चिमतर्फको चौर पनि सम्याइँदै छ । त्यस्तै, पुराना अस्थायी टहराहरू पनि भत्काइँदै छन् ।
मुख्यसचिव नेतृत्वको उच्च अधिकारीको बैठकले संस्कृति, पयर्टन तथा नागरिक उडड्यन मन्त्रालयसँग समन्वय गरी सिंहदरबारको इतिहाससहितको म्युजियम (संग्रहालय) बनाउन निर्देशन दिएको थियो । निर्देशनअनुसार सफाइ अभियानसँगै संग्रहालय निर्माणको योजना बन्ने प्रधानमन्त्री कार्यालयका प्रवक्ता कुँवरले बताए ।
सिंहदरबार प्रवेशका लागि पूर्वी, पश्चिम र दक्षिण गेट छन् तर सर्वसाधारणका लागि भने दक्षिण गेटबाट मात्रै प्रवेशको अनुमति छ । दक्षिण गेटमा भित्रिनेसँगै बाहिरिने गेट नहुँदा सवसाधारण सवारीसाधन ओहोर–दोहोर गर्ने मुख्य सडकबाटै बाहिरिन्छन् । संघीय सचिवालयले दक्षिण गेटमा राष्ट्रिय अनुसन्धान विभागसँग जोडिएको पर्खाल भत्काएर सर्वसाधारण बाहिरिने छुट्टै गेट निर्माण गर्ने तयारी गरेको छ ।















प्रतिक्रिया