९ कार्तिक २०८३, सोमबार

भक्तपुरमा आगलागी, नियन्त्रण गर्न गएका दमकल चालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fire-chinaभक्तपुर, २५ माघ । आगलागी नियन्त्रणका लागि घटनास्थलमा पुगेका दमकल चालकको मृत्यु भएको छ । अनन्तलिङ्गेश्वर नगरपालिका–१ मा गए राति भीषण आगलागी हुँदा ३३ लाखभन्दा बढीको क्षति हुनाका साथै दमकल चालक रञ्जित श्रेष्ठको मृत्यु भएको छ ।

बालकोटमा रागिनी आर्ट ग्यालरीसँगै रहेको कपास कारखानामा राति ९ बजे अचानक आगलागी भएको थियो । कृष्ण सिलवालको करिब तीन रोपनी जग्गा भाडामा लिएर छ वर्षदेखि कपास कारखाना सञ्चालन गर्दै आएका जिरी–६ दोलखाका जितबहादुर खड्काले सञ्चालन गरेको कपास कारखानामा लागेको भीषण आगलागी मध्यराति २ बजे मात्रै नियन्त्रणमा आएको थियो ।

आगलागी भएलगत्तै स्थानीय बासिन्दाले आगो नियन्त्रणको प्रयास गरे पनि चारैतिरबाट एकै पटक कारखानामा दन्किएकाले निभाउन असफल भएका थिए । आगलागी भएलगत्तै खबर गरे पनि ४५ मिनेटपछि मात्रै दमकल आएको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गर्दै दमकललाई ढुङ्गा प्रहारसमेत गरेका थिए ।

स्थानीयवासीले सम्झाएपछि दमकलले करिब पौने १० बजेदेखि आगो नियन्त्रणमा लिने प्रयास गरेको थियो । आगो नियन्त्रणका लागि स्थानीय बासिन्दा, भक्तपुर, काठमाडौं महानगरपालिक र ललितपुर उपमहानगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका दमकलले आगो नियत्रन्त्रणका लागि प्रयास गरेका थिए ।

विद्युत्भार कटौती भएका बेलामा लागेको आगो अचानक फैलिएपछि करिब पाँच ट्रक कपास, कपास बनाउनका लागि ल्याइएको कपडा, कपास बनाइने यन्त्रलगायत अन्य सामग्री पूर्ण रुपमा जलेर नष्ट भएको छ । कारखाना सञ्चालक खड्काले आगलागीबाट रु १५ लाखको यन्त्र, कपास, कपडालगायत सामग्री गरी करिब रु ३३ लाखको क्षति भएको बताउनुभयो ।

राति ९ बजे कामदार सीताराम भुजेल खाना खाएर सुतेको र ९ बजेर ८ मिनेटमै उद्योगको वरिपरिबाट एकै पटक आगलागी भएको खड्काले बताउनुभयो । कामदार सुतेको ८ मिनेटमै छिमेकीले कारखानामा आगलागी भएको बताएपछि बाहिर निस्केर हेर्दा कारखानाको वरिपरिबाटै एकै पटक बलिरहेको देखेको बताउँदै उहाँले कसैले कारखानाको वरिपरि पेट्रोल छर्केर आगो लगाइदिएको हुन सक्ने आशङ्का गर्नुभयोे ।

कारखानामा काम गर्ने भुजेलले भन्नुभयो–“मैले खाना खाएर सुतेको केही बेरमै कारखानाको वरिपरिबाट एकै पटक आगलागी भयो, म शौचालयबाट भागेर बाहिर निस्केँ ।” आगलागीबाट नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायका घरमा सामान्य क्षति पुगेको छ । आगलागी कसरी सुरु भयो भन्नेबारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको दमकल महाँकालबाट पानी भरेर बालकोट आउने क्रममा अनियन्त्रित भएर तीनकुने मुनिभैरवअगाडि दमकल दुर्घटना हुँदा दमकल चालक काठमाडौं नैकापका २३ वर्षीय श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य चार कर्मचारी घाइते भएका छन् । घाइतेको प्रहरी अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।