८ कार्तिक २०८३, आइतबार

‘म किन अनागरिक ?’

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । झापाकी अप्सरी बेगमले थाइल्यान्डमा सम्पन्न महिला विश्वकपको एसियाली छनोट प्रतियोगितामार्फत नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यु गरिन् । योसँगै उनको पहिचान नेपालको पहिलो मुस्लिम अन्तर्राष्ट्रिय महिला क्रिकेटरका रूपमा रह्यो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

यू १९ हुँदै क्षेत्रीय टोलीबाट राष्ट्रिय प्रतियोगितामा स्थापित भएकी मध्यक्रमकी ब्याट्सवुमन अप्सरीको करिअरको ग्राफ उकालो लाग्दै छ । डेब्यु अन्तर्राष्ट्रिय खेलमा हङकङविरुद्ध उनले २४ रनको निर्णायक इनिङ्स खेलेर आफूलाई प्रमाणित गरिन्, जसकै कारण नेपालले जित हात पार्‍यो ।

अप्सरीले अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान कायम गरिन् । देशको गौरव राख्ने खेलाडीले आफ्नै पहिचान भने अहिलेसम्म पाएकी छैनन् । १९ वर्ष भइसक्दा पनि नागरिकता बन्न सकेको छैन । नागरिकता नभएकैले पासपोर्ट नबन्दा पहिलो अन्तर्राष्ट्रिय सहभागिताबाट वञ्चित भइन् । दोस्रोपल्ट भने ट्राभल डकुमेन्ट्सको सहारामा थाइल्यान्ड उडिन् । उता पुगेपछि अध्यागमनले रोक्यो र जमानी बसे प्रशिक्षक विनोद दास ।

कथा यस्तो हो

२०५६ असार २३ गते झापाको मेचीनगर नगरपालिका साबिकको वडा नम्बर १० (अहिले ६) मा जन्मिएकी अप्सरीका बुबा आफफ मियाँ हुन् । उनको नागरिकता जन्मका आधारमा २०६३ सालमा बनेको छ । आमा लैमा बेगमको नागरिकता २०५५ सालमा वंशजका आधारमा प्राप्त गरेको देखिन्छ । हजुरबुबा र हजुरआमा दुवैको नागरिकता वंशजकै आधारमा छ । अप्सरीका दाइले पनि वंशजकै आधारमा नागरिकता पाए ।

३ वर्षअघि १६ वर्ष पुगेदेखि नागरिकता बनाउन जाँदा जिल्ला प्रशासन कार्यालयले बाबुले जन्मका आधारमा लिएकाले छोरीको नागरिकता बनाउन नमिल्ने जवाफ दिइरह्यो । राष्ट्रिय र क्षेत्रीय प्रतियोगितामा नागरिकता चाहिएन तर राष्ट्रिय टोलीमा छानिएपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पासपोर्ट बनाउन नागरिकता नभई भएन ।

दुई महिनाअघि थाइल्यान्ड वुमन्स ट्वान्टी–२० स्म्यास क्रिकेटका लागि राष्ट्रिय टोलीबाट छानिएपछि नागरिकता बनाउने प्रयासमा उनले खेपेको दुःख भनिसाध्य छैन । नागरिकता बनाउन नसकेरै त्यो प्रतियोगिता गुमाइन् । ‘राष्ट्रिय टोलीमा परेको र प्रतियोगिता खेल्न विदेश जान लागेको भनेर प्रमाण पेश गर्दा पनि मैले नागरिकता पाइनँ, ममीका नामबाट नागरिकता पाऊँ भन्दा पनि कानुन बनिनसकेको जवाफ पाएँ,’ मध्यक्रममा हार्ड हिटरको उपमा पाएकी अप्सरीले भनिन्, ‘एक मन क्रिकेट खेल्नै छाडिदिऊँ भनेर हार खाइसकेकी थिएँ तर सिनियर दिदीहरू र विनोद सर (दास) ले धेरै हौसला र साथ दिनुभयो ।’