९ कार्तिक २०८३, सोमबार

नेपाल वायुसेवा निगमको नयाँ जहाज आज आउँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Airbus-nepal-a320-200-wl-flकाठमाडौं, २५ माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि नयाँ जहाज प्राप्त गर्ने भएको छ ।

निगमले अन्तर्राष्ट्रिय उडानका लागि फ्रान्सेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरेको ए ३२०–२०० सिरिजको जहाज आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाएको छ ।

जहाजको स्वागतका लागि विमानस्थलमा विशेष समारोहको आयोजना गरिने भएको छ । बिहान ११ बजे जहाज विमानस्थलमा अवतरण हुनेछ ।

जहाजको स्वागत पञ्चकन्याले गर्ने र पण्डितले स्वस्ती बाचन गर्ने कार्यक्रम तय गरिएको निगमका महाप्रबन्धक मदन खरेलले जानकारी दिनुभयो ।

निगम व्यवस्थापनले २०७० वैशाख ९ गते दुई जहाज किन्न प्रतिबद्धता रकम (बैना) स्वरूप पाँच लाख अमेरिकी डलर एयरबसलाई पठाएको थियो ।

त्यसपछि गत जेठ २९ मा निगम र कर्मचारी सञ्चय कोषबीच १० अर्ब बराबरको ऋण आदान–प्रदान सम्झौता भएको थियो ।

साढे दुई दशकदेखि एउटा पनि जहाज किन्न नसकेको निगमलाई नयाँ जहाज आएपछि नयाँ गन्तव्यमा उडानका लागि सहज हुने भएको छ । नयाँ जहाज अवतरण भएको दुई महिनापछि दोस्रो जहाज पनि आइपुग्ने छ ।

सम्झौताअनुसार एउटा जहाजको अङ्कित मूल्य (क्याटालग प्राइस) ७ करोड ५० लाख अमेरिकी डलर (७ अर्ब २० करोड) रहेको छ ।

निगम र एयरबसबीच करिब पाँच वर्ष (सन् २००८) अघिको अङ्कित मूल्यमा लागत मूल्य जोडेर त्यसैअनुसार जहाज लिने–दिने सम्झौता भएको थियो ।

पाँच वर्षअघि एयरबसले ४ करोड १२ लाख ८९ हजार डलर (तीन अर्ब ८ करोड ४२ लाख ८८ हजार ३ सय) मा एउटा जहाज दिने गरी निगमको टेन्डर जितेको थियो । त्यसमा लागत रकम थप गरेर जहाज उपलब्ध गराइएको हो ।

निगमले ल्याउने सो जहाजमा १५० सिट हुन्छन् । निगमले भने यसमा सिट बढाएर १६४ बनाएको छ ।

निगमलाई जहाज किन्न कर्मचारी सञ्चय कोषले एकमुष्ठ १० अर्ब ऋण दिएको थियो । कोषलाई जहाज सञ्चालनमा आएपछि तीन–तीन महिने किस्ताबन्दीमा तिर्दै जाने गरी सम्झौता गरिएको छ ।

अन्तर्राष्ट्रिय उडानका लागि निगमलाई दुईवटा एयरबस ए ३२०–२०० सिरिजका जहाज किन्न दिएको ऋणका लागि वार्षिक १२ प्रतिशत ब्याजदर तोकेको छ भने चुक्ता अवधि १५ वर्ष राखिएको छ ।

हाल निगमको जहाज दोहा, हङकङ, बैंकक र क्वालालम्पुरको उडान गरिरहेको छ । दुबई उडान स्थगन गरेको छ भने भारतको राजधानी नयाँदिल्ली उडान पूर्णरूपमा बन्द छ ।

नयाँ जहाज आएपछि ती स्थानमा उडान सङ्ख्या बढाउने निगमको योजना रहेको छ ।

जहाज अभावमा झन्डै एक खर्बको अन्तर्राष्ट्रिय उड्डयन बजारमा निगमको हिस्सा ३ दशमलव ८ प्रतिशतमा झरिसकेको छ । अब नयाँ जहाज आएपछि निगमको हिस्सा बढ्ने विश्वास लिइएको छ ।

निगमले हाल सञ्चालनमा ल्याइरहेको जहाज २०४३ र २०४४ सालमा किनेको थियो । त्यसयता निगमले आधादर्जन पटक जहाज ल्याउने प्रयास गरेपनि सफल भएको थिएन ।

केही समय पहिले निगमले चीनमा निर्मित एम ए ६० र वाइ १२ मोडलका दुईवटा जहाज ल्याइसकेको छ । एमए ६० ले सुगम गन्तव्यमा उडान गरिरहेको छ भने वाइ १२ ले पोखरा र अन्य दुर्गम गन्तव्यमा उडान गरिरहेको छ ।