काठमाडौँ, २४ माघ । एकीकृत नेकपा माओवादीले सहमतिमा नै संविधान जारी हुने अवस्था आए आफूहरू सम्वादका लागि तयार रहेको बताएको छ ।
सत्तारुढ दलले बहुमतको आधारमा सुरु गरेको प्रक्रियालाई खारेज गरेर वार्ताका लागि आह्वान गरे आफूहरूले वार्तामा बस्दैनौं नभनेको समेत सो दलले जनाएको छ ।
एमाओवादीको पार्टी कार्यालय पेरिसडाँडामा शनिवार आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका प्रवक्ता दीनानाथ शर्माले वार्ता प्रक्रिया सत्तारुढ दलले नै अवरुद्ध गरेका कारण समस्या पैदा भएको तर्क गर्नुभयो ।
प्रवक्ता शर्माले भन्नुभयो, ‘‘सम्वादको प्रक्रिया सुरु गर्ने हो भने प्रधानमन्त्री सुशील कोइरालाले सार्वजनिकरुपमा आह्वान गर्नुपर्छ र विगतका सहमति तथा सम्झौतालाई अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुपर्दछ ।’’
सहमतिमा संविधान जारी हुने वातावरण पनि नबनाउने र निरन्तर प्रक्रिया अगाडि बढाउने भए आफूहरू आन्दोलनमा जानुको विकल्प नभएको उहाँको भनाइ थियो ।
गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशीता तथा समानुपातिक प्रतिनिधित्व आफ्नो पार्टीको एजेण्डा भएको जिकिर गर्दै प्रवक्ता शर्माले एजेण्डा स्वीकार गर्ने, एमाओवादीलाई अस्विकार गर्ने प्रवृत्ति गलत भएको धारणा राख्नुभयो ।
सम्वादका लागि विश्वासिलो वातावरण बनाउने जिम्मा सरकारको भएको भन्दै प्रवक्ता शर्माले फेरि पनि अल्मल्याउने र धोकाधडी हुने स्थिति आए वार्ताका लागि वार्तामा नबस्ने जिकिर गर्नुभयो ।















प्रतिक्रिया