
विराटनगर, १४ फागुन । तपाई आजभोली विराटनगर आउनु भयो भने धुलो, धुवाँ र अव्यवस्थित सहर भन्दा केही भेट्नु हुन्न । सडक निर्माणका नाममा बर्षदेखि ढुंगागिटी थुपारिएका छन्, सडक विस्तारका लागि भित्रि बजार भत्काइएका छन् । तर, बनाउने कामको सुस्ततालाई कसैले ध्यान दिएको छैन । बिराटनगर रोगी छ ।
बिराटनगर नेपालको इतिहासमा निक्कै शक्तिशाली राजनीतिक भूमी हो । यहाँबाट चार शक्तिशाली प्रधानमन्त्री भएका थिए । कोइराला परिवारबाट ३ र तत्कालिन नेकपा एमालेबाट एक जना । मात्रीका प्रसाद कोइराला, वीपी कोइराला र गिरिजा प्रसाद कोइराला नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री बनेका थिए भने मनमोहन अधिकारी नेकपा एमालेबाट ।
यति धेरै प्रधानमन्त्री पाएको सहरको हालत भने कमजोर रहेको स्वीकार्दै स्थानीय विवेक घिमिरे भन्छन्,‘बिराटनगरको यो हविगत देख्दा राजनीतिक भूमी भन्न लाज लाग्छ । अहिले प्रदेश १ को राजधानी पनि हो । तर, मन्त्रालय, मन्त्रीको काम के हो बुझ्न सकेको छैन ।’
प्रधानमन्त्री मात्र नदिएर विराटनगरले धेरै नेता उत्पादन गरेको छ । महेश आचार्य, डा. मिनेन्द्र रिजाल, शेखर कोइराला, सुजाता कोइराला, विजयकुमार गच्छादारलगायतका नेता बिराटनगरबाटै उठेका थिए ।
बिराटनगर र राजनीतिलाई नियालिरेका स्थानीय पाका कुबेर साह भन्छन्,‘न औधोगिक नगरीका रुपमा यसलाई विकास गरियो, न कुनै खास पहिचानका लागि स्थापित हुन सक्यो । न विकास नै भयो ।’
नयाँ राजनीतिक संरचना भएपछि विकासको गति लिनुपर्नेमा पनि बिराटनगर चुकिरहेको देखिन्छ । अव्यवस्थित र अस्तव्यस्त गर्मी सहरमा राम्रा पोखरी र नदीको कमी त छँदै छ, नागरिकका सुविधाका लागि कुनै पनि सरकारी संयन्त्र छैनन् ।















प्रतिक्रिया