४ कार्तिक २०८३, बुधबार

बैंकको ब्याज वृद्धिबाट उत्पन्न परिस्थिति सहज बनाउने सहमति

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिर्तामोड, १३ फागुन । बैंक तथा वित्तीय संस्थाहरुबाट भएको ऋणको ब्याजदर वृद्धि र ब्याज घटाउन माग गर्दै  उद्योगी–व्यवसायी आन्दोलनमा उत्रिएपछि उत्पन्न परिस्थितिलाई सहज बनाउने सम्बन्धित क्षेत्रका सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् ।

बैंकर्स एशोसिएशन र उद्योग–व्यवसाय क्षेत्रका प्रतिनिधिहरुबीच सोमबार बिर्तामोडमा भएको छलफलमा त्यस्तो प्रतिबद्धता जनाएका हुन् । बैंकिङ क्षेत्रका प्रतिनिधिबाट उद्योगी, व्यवसायीका माग र समस्याबारे गम्भीर ध्यानाकर्षण भई ब्याजदर वृद्धिको विषयलाई उचित सम्बोधनका लागि बैंक तथा वित्तीय संस्थाको माथिल्लो निकायमा पठाएर पहल गर्ने प्रतिबद्धता जनाइएको छ ।

त्यस्तै,  बैंक तथा वित्तीय क्षेत्रको ब्याजका कारण उत्पन्न परिस्थितिलाई सहज बनाउन आ–आफ्नो क्षेत्रबाट नेपाल सरकार, अर्थ मन्त्रालय, राष्ट्र बैंकको ध्यानाकर्षण गराउन तत्काल लागिपर्ने सहमति भएको छ । उद्योगी–व्यवसायी र बैंक तथा वित्तीय संस्थाबीचको सम्बन्धलाई प्रगाढ बगाई सहकार्यात्मक ढंगले अघि बढ्न छलफल र अन्तरक्रियालाई जारी राख्ने समेत उनीहरुले जनाएका छन् ।

बैंकहरुले आफ्ना ग्राहक उद्योगी, व्यवसायीलाई अब वार्षिकरुपमा लेखा लगायत ऋणको उचित र अधिकतम् उपयोगबारे तालिम तथा कार्यशाला सञ्चालनका लागि पहल गर्ने समेत प्रतिबद्धता जनाइएको छ । संवाद समूहको संयोजनमा बिर्तामोड उद्योग वाणिज्य संघको कार्यालयमा भएको छलफलमा उद्योगी, व्यवसायी र बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरुले आफ्नो धारणा राखेका थिए ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले उद्योगी–व्यवसायीहरुको हित र मुलुकको समृद्धिका लागि दुई अंकको ब्याज घटाएर एक अंकमा ल्याउनुपर्ने र उत्पादनमुलक कार्यमा मात्र बैंकले लगानी गर्नुपर्नेमा जोड दिए ।

नेपाल चेम्बर अफ कमर्श झापाका अध्यक्ष सन्तोष अग्रवालले उद्योगी, व्यवसायी चर्को ब्याजको मारमा परेको भन्दै ऋण र निक्षेपको ब्याजदरमा रहेको ठूलो अन्तर तत्काल घटाउनुपर्ने बताए ।

झापा उद्योग संघका महासचिव दुर्गाप्रसाद भण्डारीले बैंकको ब्याजदर वृद्धिले उद्योगको उत्पादन लागत बढ्दा अन्तर्राष्ट्रिय बजारमा यहाँको उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको बताए । उनले ऋणिबाट सेवाशुल्कको नाममा बैंकले असुलीरहेको रकम तत्काल नियन्त्रण गर्न माग गरे ।

राष्ट्रिय उद्योग वाणिज्य संघका अध्यक्ष सुवास भट्टराईले बैंकले रातारात ब्याज बढाएर उद्योगी, व्यवसायीलाई मार पारेको भन्दै अब ऋण लिँदा सोच्नुपर्ने अवस्था आएको बताए । उनले बैंकले उद्योगी व्यवसायीलाई ऋणको  अधिकतम् उपयोग गर्नेबारे तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय प्रजातान्त्रिक उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य वेदप्रकाश अग्रवालले ऋणिलाई थाहै नदिई ब्याज बढाउने बैंकको कार्यशैलीबाट अन्याय भएको बताउँदै लिइसकेको ऋणको ब्याज बढाउन नमिल्ने बताए ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाका अध्यक्ष देशवन्धु ढुंगेलले बैंकहरुको पारदर्शी कार्यशैली जरुरी रहेको बताउँदै संवाद र छलफलबाट समाधानको निकास खोज्नुपर्नेमा जोड दिए ।