४ कार्तिक २०८३, बुधबार

देउवालाई शेखरको काउन्टर : म को हुँ भन्ने मलाई हेक्का छ

8.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १३ फागुन । नेपाली काँग्रेसभित्रको आन्तरिक किचलो बाहिर छताछुल्ल हुन थालेको छ । केन्द्रीय कार्यालयमा नेताहरुमाथि नेविसङ्घको ‘हातपात’, विद्यार्थीबीच ढुङ्गा हानाहान होस् या शीर्ष नेताहरुको आरोप–प्रत्यारोप, फेरि एकपटक काँग्रेसभित्रको अन्तरकलह सतहमा आइपुगेको छ ।

प्रमुख प्रतिपक्षी दल काँग्रेस आफ्नै पार्टीभित्रको कलहमा अल्झिदा प्रतिपक्षीको भूमिकामाथि समेत प्रश्न उठ्न थालेको छ । केहीदिन अघि सभापति शेरबहादुर देउवाले वीरगञ्ज पुगेर केन्द्रीय सदस्य डा. शेखर कोइरालाको नामै लिएर उनको हैसियतमाथि प्रश्न उठाएपछि कोइरालाले सार्वजनिक रुपमै त्यसको प्रतिवाद गरेका छन् । कोइराला परिवार एक ठाउँ उभिएको भन्दै महामन्त्री शसांक कोइराला र केन्द्रीय सदस्यद्वय शेखर र सुजाताले देउवाको नेतृत्व क्षमतामाथि प्रश्न उठाएका थिए । खासगरी, शेखर कोइरालाले देउवाको चर्काे आलोचना गर्दै आएका छन् । फलस्वरुप शेखरसँग चिढिएका देउवाले उनको हैसियत र संस्कारमाथि प्रश्न उठाएका थिए ।

यता, कोइरालाले भने आफू को हुँ भन्ने राम्रैसँग हेक्का भएको भन्दै सभापति देउवालाई काउन्टर जवाफ दिएका छन् । विराटनगरस्थित कोइराला निवासमा सोमबार नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले भने, ‘म को हुँ भन्ने मलाई हेक्का छ, म मेरो राजनीतिक संस्कार छाड्न सक्दिनँ । बरु कोइराला परिवारको संस्कारलाई अझ बरकरार राख्छु ।’

उनले सभापति देउवाको राजनीतिक संस्कार के रहेछ भन्ने देखिएको टिप्पणी गरे । ‘उहाँले मेरो र परिवारबारे जे बोल्नु भएको छ, त्यो उहाँकै राजनीतिक संस्कार होला,’ कोइरालाले भने । पार्टी संगठनमा भएको जथाभावीको विषय लिएर आफू कार्यकर्तामाझ जाने र गइरहने बताउँदै कोइरालाले काँग्रेस कमजोर र संगठन शून्य बराबर भएको बताए ।

‘हारको जिम्मा कसले लिने भन्दा मलाई अनुशासन र कारबाहीको कुरा गरे भने मलाई केही भन्नु छैन,’ कोइरालाले थपे । कोइरालाले १४ औं महाधिवेशन समयमा हुन नदिन र समय थप गरेर अरु अढाई वर्ष लम्ब्याउन सभापति देउवा लागेको आरोप पनि लगाएका छन् । ‘हाम्रो कार्यकाल अब एक वर्षमात्र बाँकी छ । तर, सभापति देउवा भने दुई वर्ष थप्ने दाउमा हुनुहुन्छ’, कोइरालाले भने ।

नेता कोइरालाले महासमिति बैठकमा सभापति देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेलले विधान परिमार्जन गर्ने भनेर जनाएको प्रतिबद्धताविपरीत विधान पास गरेको भन्दै आफ्नो असहमति रहेको बताए । काँग्रेसको संगठनमा समावेशीको नाममा पटक–पटक एउटै व्यक्तिलाई ३ पटक ४ पटक लड्न दिने हो भने नयाँ नेता नआउने भन्दै आफूहरूको यो एजेण्डा १४ औं महाधिवेशनसम्म लैजाने उनको भनाइ थियो ।

नेता कोइरालाले एनसेल घोटाला प्रकरण र वाइडबडी विमान खरिदमा भएको अनियमितताको ढाकछोपको प्रयास भइरहेको पनि आराेप लगाएका छन् । उनले घोटालामा मुछिएका पूर्वप्रधानमन्त्री, मन्त्रीलगायतलाई पनि अनुसन्धानको दायरामा ल्याएर कानुनी कारवाही गर्नुपर्नेमा जोड दिए ।

‘वाइडबडी विमान घोटालामा मन्त्री, पूर्वप्रधानमन्त्री, वर्तमान प्रधानमन्त्री भए पनि कानुनी कठघरामा ल्याउनुपर्छ,’ नेता कोइरालाले भने, ‘न्यायिक जाँचबुझ आयोग निर्माण गरेर अनियमितता ढाकछोपको प्रयास भएको देखिन्छ ।’