काठमाडौं, १३ फागुन । संवैधानिक आयोगमा सिफारिस अध्यक्षको सुनुवाइका लागि आइतबार आह्वान गरिएको संसदीय सुनुवाइ समिति बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ ।
संवैधानिक परिषद्ले मधेसी आयोगको अध्यक्षमा सिफारिस गरेका विजयकुमार दत्त र थारू आयोगका विष्णुप्रसाद चौधरीमाथिको सुनुवाइ मंगलबारलाई सरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
संवैधानिक परिषद्ले प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा सिफारिस बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा सिफारिस शान्तराज सुवेदीको सुनुवाइ भने सम्पन्न भइसकेको छ ।
१५ सदस्यीय समिति बैठक सञ्चालन गर्न संसद् नियमावलीअनुसार बहुमत सदस्य उपस्थित हुनुपर्छ । तर, समिति बैठकमा आठजना सांसदसमेत उपस्थित नभएपछि स्थगित गरिएको सभापति लक्ष्मणलाल कर्णले बताए ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसको असहमतिका बीच संसदीय सुनुवाइ समितिले विभिन्न पाँच आयोगका लागि सिफारिस अध्यक्षको सुनुवाइ प्रक्रिया अघि बढाउँदै आएको छ ।
संवैधानिक परिषद्ले विभिन्न आयोग अध्यक्षमा विपक्षी दलको नेताको अनुपस्थितिमा सिफारिस गरेकाले आफूहरूको असहमति रहेको भन्दै कांग्रेसले आयोगका प्रस्तावित अध्यक्षमाथिको सुनुवाइ प्रक्रिया बहिष्कार गर्दै आएको छ ।
आइतबारको बैठकमा समेत कांग्रेस सांसद सहभागी थिएनन् । १५ सदस्यीय सुनुवाइ समितिमा कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, जितेन्द्रनारायण देव, भीमसेनदास प्रधान र पुष्पा भुसाल गौतम सदस्य छन् ।
राष्ट्रिय सभामा प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक सर्वसम्मतिले पारित भएको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पारित गर्न प्रस्ताव गरेको विधेयक सर्वसम्मतिले टुंगिएको हो ।
बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐनलाई सशोधन गर्ने विधेयकमाथि छलफलका लागि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
संविधानको भाग २७ मा व्यवस्था गरिएका अन्य आयोगमध्ये पाँच आयोगमा संवैधानिक परिषद्ले अध्यक्षका लागि सिफारिस गरिसकेको छ । तर, महिला आयोग, दलित आयोग र आदिवासी जनजाति आयोगमा अध्यक्ष सिफारिस गरिसकेको छैन ।
आइतबार आह्वान गरिएको संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री केपी ओलीले आफू व्यस्त रहेको खबर पठाएपछि बस्न सकेन ।
बैठकले बाँकी आयोगमा अध्यक्ष सिफारिस गर्ने र संसदीय सुनुवाइ समितिमा सुनुवाइका लागि पुगेका मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष अन्सारीविरुद्ध उजुरी परेको र अब उनको नियुक्तिबारे के गर्ने भन्नेमा छलफल गर्ने कार्यसूची परिषद्को थियो ।















प्रतिक्रिया