८ कार्तिक २०८३, आइतबार

समानान्तर प्रतिवेदन बुझ्न अध्यक्ष ओलीले दिएनन् समय

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शुक्रबारको सचिवालय बैठकले संगठनात्मक एकीकरण कार्यदल भंग गरेपछि समानान्तर प्रतिवेदन बुझाउने योजना बनाएका कार्यदलका बहुमत सदस्यलाई शनिबार अध्यक्ष केपी ओलीले समय नै दिएनन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले कार्यव्यस्तताको कारण देखाउँदै समानान्तर प्रतिवेदन बुझ्न आलटाल गरेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘शनिबारका लागि समय मागिएको थियो, तर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष व्यस्त बन्नुभएकाले प्रतिवेदन बुझाउन सकिएन,’ कार्यदलका सदस्य लेखराज भट्टले भने, ‘उहाँले समय दिनुभयो भने आइतबार बुझाउँछौँ ।’

केन्द्रीय सचिवालयको शुक्रबारको बैठकले कार्यदलको समय थप नगरेपछि असन्तुष्ट बहुमत सदस्यहरूले संयोजक रामबहादुर थापा बादलले बुझाएको प्रतिवेदनको अर्को समानान्तर प्रतिवेदन बुझाउने तयारी गरेका हुन् । उनीहरूले कार्यदल संयोजक थापा, अर्का सदस्य विष्णु पौडेल र अध्यक्ष केपी ओलीले कार्यदललाई काम गर्नै नदिएर काम गर्न नसकेको आरोप लगाउँदै कार्यदल भंग गरेको आरोप लगाएका छन् ।

नौ सदस्यीय कार्यदलमा थापा र पौडेलसहित योगेश भट्टराई, वर्षमान पुन, बेदुराम भुसाल, शंकर पोखरेल, लेखराज भट्ट, सुरेन्द्र पाण्डे र रघुवीर महासेठ सदस्य थिए । शुक्रबारको सचिवालय बैठकले कार्यदल विघटन गरेर पार्टी एकीकरणको बाँकी काम सचिवालयबाटै गर्ने निर्णय गरेको थियो । समानान्तर प्रतिवेदन योगेश भट्टराई, वर्षमान पुन, लेखराज भट्ट, बेदुराम भुसाल र सुरेन्द्र पाण्डेले तयार पारेका छन् ।