काठमाडौं, १० फागुन । ३ फागुनभित्र कर्मचारी समायोजन सक्ने सरकारको लक्ष्य एकतिहाइ मात्रै पूरा भएको छ । ७७ हजार कर्मचारीले समायोजनको फारम भरेकोमा अहिलेसम्म ३० प्रतिशत अर्थात् २२ हजार ९ सय १७ कर्मचारी मात्रै समायोजन भएका हुन् । नयाँ पत्रिका दैनिकलेसमाचार छापेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले संघमा १७ हजार २ सय ७९ र प्रदेशमा २ हजार ४ सय ४८ कर्मचारी समायोजन भएको बताए । सबैभन्दा ठूलो दरबन्दी हिस्सा रहेको स्थानीय तहमा ३ हजार १ सय ९० कर्मचारी समायोजन भएका छन् ।
विशिष्ट श्रेणी (सचिवस्तर)मा ५७ जना सबै संघमा समायोजन भएका छन् । सहसचिवस्तरमा ६ सय ७६ कर्मचारीको समायोजन सकिएको छ । त्यसमध्ये ५ सय ७४ संघ र बाँकी प्रदेशमा छन् ।
उपसचिवस्तरमा भने २ हजार ६ जनाको समायोजन भएको छ । त्यसमध्ये १ हजार १ सय ९२ संघमा, ५ सय ७६ प्रदेशमा र २ सय ३८ स्थानीय तहमा समायोजन भएका छन् । उक्त तहका प्रशासन, लेखा, राजस्व, इन्जिनियरिङ, वन र शिक्षा सेवाका कर्मचारीको समायोजन भएको छ ।
त्यस्तै, शाखा अधिकृतस्तरमा ४ हजार ६ सय २ कर्मचारीको समायोजन भएकोमा ३ हजार ७ सय ७ संघमा, ५ सय ६८ प्रदेश र ३ सय २७ जना स्थानीय तहमा छन् । यो श्रेणीमा प्रशासन, लेखा र राजस्व समूहका कर्मचारीको समायोजन भएको छ ।
मन्त्रालयका अनुसार नायब सुब्बा (नासु)को संघमा ३ हजार ९ सय ८१, प्रदेशमा १ हजार १ सय ६३ र स्थानीय तहमा १ हजार ३ सय ३३ गरी कुल ६ हजार ४ सय ७७ समायोजन भएका छन् । खरिदारमा तीनै तहमा गरी ४ हजार ६ सय ६ जना कर्मचारीको समायोजन सकिएको छ । जसमा केन्द्रमा ३ हजार १ सय १४, प्रदेशमा ३ सय ७८ र स्थानीय तहमा १ हजार १ सय १४ समायोजन भएका छन् ।
सरकारले संघमा कुल ४८ हजार ४ सय ९, प्रदेशमा २१ हजार ३ सय ९९ र स्थानीय तहमा ६६ हजार ७ सय ५० कर्मचारी रहने गरी संगठन संरचना र दरबन्दी निर्धारण गरिसकेको छ ।















प्रतिक्रिया