
काठमाडौँ, ९ फागुन । अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिने क्रममा खिचिएको भिडियो अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अख्तियारको अनुसन्धान टोलीलाई भिडियो बुझाएको हो ।
आवश्यक प्रमाण बटुल्ने क्रममा बिहीबार सिंहदरबारस्थित संसदीय दलमा पुगेको अख्तियारको तीन सदस्यीय अनुसन्धान टोलीलाई नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले भिडियोसहितको पेन ड्राइभ र अन्य कागजपत्र बुझाएका हुन् ।
पाठकले भक्तपुर चाँगुनारायण नगरपालिकास्थित इन्जिनियरिङ कलेजको सम्पत्ति विवाद मिलाउन भन्दै ७८ लाख घुस लिएका थिए । तर, उनले घुस लिएर काम नगरिदिएपछि घुस दिने व्यक्तिहरुले नै गोप्य रुपमा भिडियो तयार पारेका थिए ।
घुसकाण्डमा मुछिएपछि पाठकमाथि महाअभियोग तयारी भएसँगै उनले आयुक्तबाट राजीनामा दिएका थिए । अख्तियारले मंगलबार मात्रै एकजना सहसचिवको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान टोली गठन गरेको छ ।
महान्यायाधीवक्ताको कार्यालयले राजीनामा दिएका आयुक्त पाठकमाथि अख्तियारले नै छानबिन गर्न सक्ने राय दिएको थियो । त्यसपछि अख्तियारको अनुसन्धान टोलीले छानबिनलाई तीब्र बनाएको हो । पाठकमाथि अहिले अनुसन्धान चलिरहेको छ ।















प्रतिक्रिया