काठमाडौँ, २३ माघ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ दलहरुले आपसमा दोहोरी खेल्नु ठिक नभएको बताउनुभएको छ ।
पछिल्लो समय एकीकृत नेकपा माओवादीका अध्यक्ष र नेकपा एमालेका अध्यक्षबीच चलिरहेको आरोपप्रत्यारोपमा आफ्नो धारणा राख्दै अध्यक्ष नेम्वाङले राजनीतिक दलहरु एकले अर्कालाई सुन्नै नसक्ने शब्द प्रयोग गरी धारे हात लगाएर गाली गर्नुको सट्टा सहमतिका लागि पहल गर्न आग्रह गर्नुभएको हो ।
सहिद तथा घाइते सरोकार नागरिक समन्वय केन्द्रीय कमिटीको शुक्रबार ज्ञापन–पत्र बुझ्दै नयाँ संविधान लेखनका लागि प्रक्रियालाई अगाडि बढाउँदै गर्दा सहमतिको उत्तिकै सम्भावना रहेको बताउनुभयो ।
“हिजो मात्रै प्रश्नावली समितिको लागि पाँच दिनको म्याद थपिएको छ, त्यो म्याद थप समितिका लागि मात्र नभई दलहरुको सहमतिका लागि पनि हो, त्यसैले अझै समय छ, सम्भावना छ, संवादलाई निरन्तरता दिनुपर्छ”–अध्यक्ष नेम्वाङले भन्नुभयो ।
उहाँले संविधानका सबै विषयमा गम्भीरताका साथ छलफल भएको र आदिवासी, जनजाति, दलित, महिला, मधेसी, सहिद परिवार तथा राज्यको मूलधारबाट पछाडि पारिएको वर्ग र क्षेत्रलगायत सम्पूर्ण उत्पीडित समुदायको अधिकार सुनिश्चित गरी जतिसक्दो चाँडो संविधान जारी गरिने बताउनुभयो ।
‘तत्काल ६०१ जना सभासद्ले खाईपाई आएको तलब भत्ता फिर्ता गरी राजनीतिक दलहरुको सहमतिमा राष्ट्रिय राजनीतिक सम्मेलनद्वारा संविधान जारी गर्नुको विकल्प छैन्’ भनी ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।















प्रतिक्रिया