काठमाडौं, २३ माघ । सरकारले कर नतिर्ने व्यवसायीलाई हदैसम्मको कारवाही गर्ने तयारी गरेको छ । सहुलियतका बीच पनि व्यवसायीहरु करको दायरामा आउन नमानेकाले सरकारले हदैसम्मको कारवाही गर्न लागेको छ ।
अर्थ मन्त्रालयले तयार गर्न लागेको नयाँ नियमावलीमा कर नतिर्ने व्यवसायीलाई न्युनतम समय सम्मका लागि हिरासतमा राख्ने प्रावधान बनाउदै छ ।
देश विकासको मेरुदण्ड राजश्वमा व्यवसायीले अटेरी गर्दा बजेटमा समेत प्रभाव पार्ने निष्कर्षसहित अर्थ मन्त्रालयले कर तिर्न अटेरी गर्नेलाई हदैसम्म कारवाही गर्ने तयारीमा लागेको आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले जानकारी दिनुभयो ।
सरकारले पुस मसान्तसम्म व्यवसायीका लागि विशेष व्यवस्था गरेको बताउँदै कर तिर्न अटेर गर्नेलाई अब खोजी खोजी कारवाही थाल्ने उहाँले चेतावनी दिनुभयो ।
‘दर्ता नगरी व्यवसाय गरेको भेटिए कारवाही गर्न मातहतका करदाता सेवा कार्यालय र आन्तरिक राजस्व कार्यालयलाई निर्देशन दिइसकेको छ,’ शर्माले भन्नुभयो, ‘व्यवसायीलाई परेका समस्याहरु समाधान गर्न एक महिना भित्र साझा निर्देशिका बनाउन तयार छु ।’
सरकारले कर पुनरावलोकनको लागि उच्चस्तरीय कर प्रणाली पुनरावलोकन आयोग गठन गरेर वस्तुनिष्ठ र रचनात्मक सुझावले नयाँ नीति लागू गरिने उहाँको भनाई थियो ।
आन्तरिक राजस्व विभागका निर्देशक गोपाल घिमिरेले कर नतिर्ने व्यवसायीलाई अब सरकारले नछाड्ने बताउनुभयो । ‘कर छलेर नाफा खाने दिन गए,’ उहाँले भन्नुभयो, ‘सबै व्यवसायीले करको दायरा आएर राष्ट्र विकासमा योगदान गरौं ।’
















प्रतिक्रिया