४ कार्तिक २०८३, बुधबार

भद्रपुरमा बजार अनुगमन र कारवाहीलाई प्रभावकारी बनाइने

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


भद्रपुर, ६ फागुन । भद्रपुर नगरपालिकाले बजार अनुगमन र कारवाहीलाई प्रभावकारी बनाउने भएको छ । बजारमा उपभोक्ता हित विपरीतका कार्यमा वृद्धि भएको भन्दै नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले त्यस्तो निर्णय गरेको हो ।

नगर प्रमुख जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रा श्रेष्ठसहितको उपस्थितिमा सोमबार नगरपालिकामा भएको छलफलमा उपभोक्ता हित संरक्षणका लागि सात बुँदे साझा निष्कर्षसहित अघि बढ्ने प्रतिबद्धता समेत जनाइएको छ ।

नगरपालिकाले उपभोक्ता हित संरक्षण समिति गठनपछि पाँचवटा अनुगमन र ११ वटा बैठक सम्पन्न गरेको सन्दर्भमा सामना गरेका समस्या र चुनौतिबारे छलफलमा जानकारी गराइएको थियो । बजार अनुगमनका क्रममा देखिएका समस्या र चुनौति समाधान गर्न सबै सरोकारवालाबीच निरन्तर समन्वय गर्ने छलफलको निष्कर्ष छ ।

त्यस्तै, सचेतनाको अभावमा उपभोक्ता ठगिने क्रम बढेको भन्दै उपभोक्तावादी संस्थासँगको समन्वयनमा उपभोक्ता सचेतना अभियानलाई निरन्तरता दिने समेत छलफलबाट निर्णय भएको छ ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालयको विभागीय शाखासँग समन्वय गरी अनुगमन र कारवाहीलाई प्रभावकारी बनाउनुका साथै त्यस विषयलाई हेर्ने छुट्टै फोकल पर्सन प्रशासनसँग माग गर्ने निर्णय भएको नगर प्रमुख श्रेष्ठले बताए । उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी तरकारी तथा फलफूलको नियमित विषादी परीक्षण, पशु वधशाला र मासु बिक्री केन्द्र व्यवस्थित गर्ने, खाद्यवस्तु खरिद–बिक्री गर्दा नाङ्गो हातले छुने कार्यलाई प्रतिबन्ध गर्न सूचना जारी गर्ने समेत छलफलमा निर्णय भएको छ । त्यस्तै, उपभोक्ताको समग्र हित संरक्षणका लागि सबै पक्ष सचेतताका साथ अग्रसर हुने प्रतिबद्धता समेत सो अवसरमा जनाइएको छ ।

झापामा भर्खरै स्थापना भएको नापतौल तथा गुणस्तर कार्यालयसँग समन्वय गरी नगरभित्रका नापतौलका समस्या समाधानमा अग्रसर हुने समेत छलफलले निष्कर्ष निकालेको छ । नगर प्रमुख श्रेष्ठले जनप्रतिनिधिले आम नागरिकको हितको लागि गरिरहेको कामलाई आत्मसाथ गर्न आग्रह गर्दै जायज कुरामा सबै एकजुट हुनुपर्नेमा जोड दिए । उपप्रमुख श्रेष्ठले बजार अनुगमन र मदिरा नियन्त्रणका सन्दर्भमा फोनबाट समेत धम्की आउने गरेको बताउँदै सबै परिस्थितिको सामना गरेर नगरबासीको हितमा अग्रसर हुने बताइन् ।